फिचर

लकडाउनको विषयमा सरकार आफै अलमलमा

काठमाडौं । निजी क्षेत्र तथा सर्वसाधारणको तहबाट लकडाउनको व्यापक उल्लंघन भइरहेको छ । अर्कोतर्फ कोरोना भाइरसको संक्रमणले दिनानुदिन उचाई छोइरहेको छ । यस अवस्थामा सरकारले घोषित लकडाउनलाई कडाई गर्ने वा खुकुलो बनाउने भन्ने सम्बन्धमा निर्णय लिन नसक्दा अलमल बढेको छ । बिहीबार दिनभरजसो लकडाउनको विषयलाई लिएर उच्च स्तरीय छलफल भए ।

उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित प्रधानमन्त्रीले समेत यस विषयमा छलफल गरे । साँझ मन्त्रीपरिषद्को बैठक समेत यस विषयलाई लिएर बस्यो । तर, निष्कर्ष भने निस्किएन । सरकारले लकडाउनको मोडालिटी तयार पार्ने जिम्मा फेरी कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई दिएको छ ।

समितिले भने यस अघि नै लकडाउन खुकुलो बनाउने र त्यस सम्बन्धमा अवस्था हेरेर जोखिमपूर्ण क्षेत्रमा कडाई गर्नुपर्ने निष्कर्ष निकालेको थियो । तर, स्वयमः प्रधानमन्त्री केपी शर्मा ओली तयार नभएपछि लकडाउन लम्बिरहेको छ । उता, सरकारले न उपचारको प्रभावकारी कदम चाल्ने तर केवल लकडाउन मात्र बढाउँदा खर्च धान्नै मुस्किल भएको भन्दै लकडाउन तोड्न थालेका छन् । बिहीबारबाट न्यूरोड क्षेत्रका पसलहरुसमेत खुला भए ।