समाचार

नयाँ दिल्लीमा मृत्यु भएका दाङका एक जनामा कोरोना पुष्टी

दाङ । भारतको नयाँ दिल्लीमा ज्यान गएका एक जना नेपालीमा कोरोना पुष्टी भएको छ । दाङका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १८ अम्वापुरका ४० वर्षीय एक व्यक्तिको भारतमा निधन भएको थियो । उनको शव नेपाल ल्याएपछि कोरोना आंशकामा आइतबार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वावको नमुना लिइएको थियो ।

पिसिआर विधिवाट गरिएको स्वाब परीक्षणको नतिजा पोजेटिभ आएको छ । दिल्लीमा मृत्यु भएपनि अन्तिम संस्कारका लागि उनलाई गृह जिल्ला दाङ ल्याइएको थियो । उनको शव आइतबार विहान ६ बजेतिर घोराही ल्याइएको थियो । त्यसपछि स्वाव संकलन गरी परिक्षणमा पठाइएको थियो । परीक्षण नभएसम्म अन्त्येष्टी भने गरिएको छैन ।

कोरोना पुष्टी भएका कारण उनको शव व्यवस्थापन अब सेनाले गर्नेछ । उनको मृत्यु भारतमा भएपनि कोरोनाका कारण भएकाले उनलाई नेपालमा गनिन्छ वा भारतमा, त्यसको पुष्टी भने स्वास्थ्य मन्त्रालयले गर्ने बताइएको छ । उनी मजदुरी कामका सिलसिलामा भारत थिए । उनमा प्रेसर तथा दमको समस्या भएको बताइएको छ ।