अर्थतन्त्र

जागिर गएपछि जिउमा आगो लगाएर आत्मदाहको प्रयास, उपचारका क्रममा मृत्यु

कोहलपुर । सोमबार बिहान अछाम बयलपाटा अस्पतालका कर्मचारी सिद्धार्थ आउजीले आफ्नै जिउमा पेट्रोल छर्केर आगो लगाए । बिहान जिउमा आगो लगाएको उनको साँझ उपचारका क्रममा मृत्यु भएको छ । उनले अस्पताल परिसरमै आफ्नो जीउमा आगो लगाएका २७ वर्षिय सिद्धार्थको कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

श्रीमति, एक छोरा र एक छोरीको बुबा उनी साफेबगर नगरपालिका ६ का हुन् । अस्पतालले जागिरबाट निकालेको सूचना प्रकाशित गरेपछि उनले आत्मदाह गर्न खोजेका थिए । त्यसक्रममा गम्भीर घाइते भएका उनलाई हेलिकोप्टरबाट उद्दार गरी कोहलपुर लगिएको थियो ।

उनीसहित ३३ जनालाई केही दिनअघि तीन महिना अवधि दिएर सेवा मुक्त गर्ने सम्बन्धमा अस्पतालले सूचना निकालेको थियो । अस्पतालले आर्थिक अभावका कारण ३३ जना कर्मचारीको करार सम्झौता थप नगरेको उल्लेख गरेको छ ।

आउजी अस्पतालका सफाई कर्मचारी रहेको बताइएको छ । अस्पताल परिसरमै शरीरमा आगो लगाएका उनको स्थानीय कर्मचारी, प्रहरी र स्थानीयले आगो निभाइदिएका थिए ।