समाचार

यो वर्ष एसइइ परीक्षा दिनु नपर्ने, आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण

काठमाडौं । यो वर्ष विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसईई)  दिनु नपर्ने भएको छ । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा विद्यार्थीको ग्रेड निर्धारण गरिने उनीहरुलाई यस परीक्षाको मान्यता दिइने भएको छ । मन्त्रिपरिषदको बुधबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठक बुधबार राती अबेर सकिएको छ ।

निर्णय भने बिहीबार मात्र सार्वजनिक गर्ने मन्त्रिपरिषद् स्रोतले जानकारी दिएको छ । शिक्षा मन्त्रालयले बुधबारको मन्त्रिपरिषद् बैठकमा आन्तरिक मूल्याङ्कन, प्रदेशगतरुपमा परीक्षा लिने वा विद्यमान कानूनलाई संशोधन गरी कक्षा १२ मा मात्रै राष्ट्रियस्तरको एसइई परीक्षा लिने गरी तीन वटा विकल्प राखेको छ । नेपालमा अहिले विद्यालयलाई क्वारेन्टिन बनाइएपछि परीक्षा लिन भने सम्भव थिएन ।

बैठकले विद्यालयबाट आन्तरिक रुपमा मूल्यांकन गरी प्राप्तंक मात्र परीक्षा बोर्डमा पठाउने गरी निर्णय भएको छ । सोही आधारमा आधारमा ग्रेड निर्धारण गरी बोर्डले परीक्षाफल सार्वजनिक गर्नेछ । ६ चैतमा तोकिएको परीक्षा कोरोना भाइरसको संक्रमणसँगै रोकिएको थियो ।

बैठकले लकडाउन खुकुलो बनाउने सन्दर्भमा पसल खोल्ने र निजी सवारी साधन जोर बिजोर प्रणालीमा खुला गर्ने समेत निर्णय गरेको बताइएको छ । औपचारिक निर्णय भने सार्वजनिक गरिएको छैन ।