समाचार

कारोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमणको कारण थप चार जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका छन् ।

ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ। कलंकी ट्याङ्लाफाँट निवासी ६४ वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको हो।

निमोनिया र मधुमेहको रोगी रहेका पुरूष साउन १५ गते अस्पताल भर्ना भएका थिए। कोरोनाको आशंकामा उनको साउन १९ गते स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

साउन २१ गते आएको रिपोर्टमा उनमा कोरोना पोजेटिभ पुष्टि भएको थियो।

त्यस्तै, काठमाडौं महानगरपालिका मध्यबानेश्वर बस्‍ने ७६ वर्षीय पुरुषको साउन २६ गते बिहान १०:१५ बजे निधन भएको छ । उनको मेडिकेयर अस्पतालमा निधन भएको हो ।

बाँकेक कोहलपुर नगरपालिका -२ बस्‍ने ७० वर्षीया महिलाको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा साउन २५ गते ३:१० बजे निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि ती महिला कोहलपुर मेडिकल कलेजमा केही दिनअघि भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएपछि महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

त्यसैगरी पर्साको बेदियानी गाउँपालिका-१५ बस्‍ने ४५ वर्षीया महिलाको साउन २५ गते नारायणी कोभिड अस्थायी अस्पतालमा निधन भएको छ ।

मृत्युपछि गरिएको स्वाब परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। श्वासप्रश्वासमा समस्या भएपछि कोभिड अस्पताल भर्ना गरिएको महिलालाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

योसंगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।