समाचार

चितवनमा ३४ जनामा थपियो कोरोना संक्रमण

भरतपुर । चितवनमा आइतबार ३४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । भरतपुर अस्पतालको कोभिड ल्यावबाट शनिबार राती सार्वजनिक विवरण अनुसार चितवन जिल्लाका ३० सहित ३४ जनामा कोरोना देखिएको हो । १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्मलाई कोरोना देखिएको छ ।

भरतपुर नगरपालिकाका विभिन्न १३ वडाका १० वर्षीय बालकदेखि ६६ वर्षका बृद्धसम्म गरी १८ जना पुरूष र १० वर्षीया बालिकादेखि ५० वर्ष सम्मकी गरी १० जना महिलागरी चितवनका २९ जनामा संक्रमण देखिएको ल्यावले जनाएको छ ।

चितवनको राप्ती २ का ३४ वर्षीय पुरूषमा पनि कोरोना देखिएको छ । यो ल्यावमा भएको परीक्षणमा नवलपुरको कावासोतीका २२ र ३२ वर्षका २ महिला, वुलिङटारका ३८ वर्षका एक पुरुष तथा कास्कीका ३० वर्षीय एक पुरूषमा पनि संक्रमण पुष्टि भएको हो । पछिल्लो समय चितवन बढी संक्रमित देखिने जिल्लामा पर्छ ।