समाचार

कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने

काठमाडौं । कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बीमा गरेका व्यक्तिको परिक्षण शुल्क बिमा रकमबाट कटिने व्यवस्था गरिएको जानकारी दिए।

कोरोना भाइरस संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क गरिरहेको भएपनि अबदेखि भने कोरोना बीमा रकमबाट उपचार खर्च कटाउन लागिएको गौतमले बताए ।

उनका अनुसार प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै सरकारको निशुल्क परीक्षण र उपचारको मापदण्डमा परेका कुनै पनि व्यक्तिले कोरोना बीमा गरेको भए परीक्षण र उपचार खर्च बीमा रकमबाट नै व्यहोर्नेछ ।

आर्थिक रुपमा विपन्‍न, अशक्त, असहाय, एकल महिला, अपाङ्ग ,ज्येष्ठ नागरिक, फ्रन्टलाइनमा खटिने स्वास्थयकर्मी, सुरक्षाकर्मी र जोखिम क्षेत्रमा काम गर्ने कर्मचारीको मात्र कोरोना संक्रमण परीक्षण र उपचार सरकारले निशुल्क गर्नेछ ।