समाचार

नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर छोरीद्धारा आमाको हत्या

काठमाडौं । आइतबार भक्तपुरमा ६० वर्षिय सावित्री भट्टराईको हत्यामा आफ्नै छोरीको संलग्नता रहेको प्रहरीले बताएको छ । विवाहित छोरीले नाजायज सम्बन्ध लुकाउन प्रेमीसँग मिलेर आमाको हत्या गरेको निचोडमा प्रहरी पुगेको हो ।

भक्तपुरको चाँगुनारायण बाँसबारीकी भट्टराईको आइतबार घाँटी रेटेर हत्या भएको अवस्थामा प्रहरीले फेला थियो। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार साबित्रीकी छोरी ईश्वरी भट्टराईसहित चार जनालाई पक्राउ गरेको जानकारी दिएको हो ।

प्रहरीले आइतबार राति धादिङको गजुरीबाट सिरहाका मोहम्मद नौशादलाई पक्राउ गर्यो । उनी भट्टराईका प्रेमी हुन् ।

हत्यामा छोरी इश्वरी र नौशादबीचको नाजायज सम्बन्ध मूख्य कारण रहेको अनुमान प्रहरीले गरेको छ । किनकी इश्वरी विवाहित हुन् ।

२७ वर्षिय इश्वरी र २३ वर्षिय नौशादबीचको सम्बन्धमा आमा तगारो बन्दै आएपछि छोरीकै योजनाबमोजिम आमाको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।

प्रहरीका अनुसार नासिदले प्रेमिकाकी आमाको हत्या गर्न भारतबाट दुई जना पेशेवर हत्यारालाई काठमाडौं बोलाएको समेत खुलेको छ ।

प्रहरीले भारतीय नागरिक मोहम्मद रहिश र भोला कुमारलाई हेटौडाबाट पक्राउ गरेको हो । महाशाखा स्रोतका अनुसार विवाहित छोरीको अन्य केटासँगको सम्बन्ध आमालाई मन परेको थिएन ।

त्यसकारण उनी छोरीलाई र केटालाई गाली गर्थिन् । भक्तपुरस्थित शाह गार्मेन्टमा सँगै काम गर्ने यी दुई बीच आमाले अवरोध गर्ने देखेपछि छोरीकै योजनामा आमाको हत्या भएको प्रहरीले बताएको छ ।

इश्वरीका एक छोरा पनि छन् । यी दुइबीचको प्रेम आमाले मन नपराएपछि इश्वरीले आफ्नै खर्चमा प्रेमीलाई दुबई काम गर्न पठाएको तर, उनी लामो समय दुबइ बस्न नसकि पुनः नेपाल फर्किएको प्रहरीको अनुसन्धानले देखाएको छ ।

उनी दुबईबाट नेपाल फर्किएको एक साता भित्रै आमाको हत्या भएको हो । प्रहरीका अनुसार आमाको हत्या गर्ने योजना प्रेमी दुबई र प्रेमिका नेपालमा रहेकै अवस्थामा भएको हो ।