विज्ञान प्रविधि

सगरमाथाको नयाँ उचाई घोषणा गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौं । सरकारले सगरमाथाको नयाँ उचाई घोषणा गर्ने भएको छ । यसका लागि मन्त्रिपरिषद्ले स्विकृति दिएको छ । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सगरमाथाको नयाँ उचाई घोषणाको स्वीकृति दिएको हो । अब भूमि व्यवस्था सहकारी तथा गरिबी निबारण मन्त्रालयले सगरमाथाको नयाँ उचाई घोषणा गर्नेछ ।

सगरमाथाको उचाई साविकको तुलनामा केही वृद्धि भएको बताइएको छ । नेपाल र चीनले संयुक्त रुपमा सगरमाथाको उचाई घोषणा गर्ने पूर्व सहमति भएकाको छ । सोहीकारण मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरुलाई पनि उचाईबारे भने जानकारी दिइएको छैन । चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणका दौरान संयुक्त रुपमा उचाई घोषणा गर्ने तयारी सरकारले गरेको हो ।


सन् २०१५ मा गएको विनाशकारी भूकम्पका कारण हिमाली भेगको उचाईमा असर परेको तथ्य नापी विभागको अध्ययनले देखाएको थियो । सोहीकारण सगरमाथाको उचाइ पनि थपघट भएको हुनसक्ने अनुमानका आधारमा नेपालले पहिलोपटक आफ्नै स्रोत साधनमा सगरमाथाको उचाइ मापन गरेको छ ।

सर्वे अफ इण्डियाले सन् १९५४ मा नापेर उचाई कायम गरिएको विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई ८८४८ अहिले पनि मान्य रहेको छ ।