फिचर

एकै पटक ५१३ शाखा अधिकृतका लागि विज्ञापन खुल्यो

काठमाडौं । लोक सेवा आयोगले एकै पटक ५१३ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले बुधवार सूचना जारी गर्दै अप्राविधिकतर्फ ५१३ जना शाखा अधिकृतमा विज्ञापन गरेको हो । आयोगले सामान्य प्रशासन, राजस्व, लेखा, लेखा परीक्षण, परराष्ट्र, न्याय, कानुन र सरकारी वकिलका लागि खुला र ज्येष्ठतामा दरखास्त आह्वान गरेको छ।

जसमध्ये १५३ जना ज्येष्ठता र बाँकी खुला प्रतिष्पर्धाबाट परिपूर्ति गरिने भएको छ । लोकसेवाले न्याय सेवाको खुलातर्फ ३६, महिला १८, आदिवासी जनजाति १४, मधेसी ११, दलित ६, अपांग दुई र पिछडिएको क्षेत्रका लागि दुई जना माग गरेको छ ।

परराष्ट्र, प्रशासन र महालेखा परीक्षक संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खुलामा १३२ जना, समावेशीतर्फ महिलाका लागि ३५, आदिवासी जनजातिका लागि २८ मधेसीका लागि २५, दलितका लागि ।आठ, अपाङ्गका लागि ७ र पिछडिएको क्षेत्रका लागि पाँच जनाको दरखास्त आह्वान गरिएको छ ।

ज्येष्ठतातर्फ सामान्य प्रशासन ४३, राजश्व ३३, लेखा २७, लेखापरीक्षण ८, परराष्ट्र २, न्याय २७, कानून ५ र सरकारी वकिल तर्फ १७ जनामो माग गरिएको छ । परीक्षा केन्द्र भने प्रथम चरणका लागि आयोगका सबै कार्यालय तोकिएको छ। द्वितीय चरणका लागि आयोगका धनकुटा, काठमाडौं, पोखरा, जलेश्वर, बुटवल, सुर्खेत र दिपायल कार्यालय तोकिएको छ।

दरखास्त दिने अन्तिम मिति पुस १४ सम्म राखिएको छ । दोब्बर दस्तुर तिरेर पुस २१ सम्म दिन सकिने भएको छ । दरखास्त आयोगको वेबसाइटमा गई अनलाइन माध्यमबाट भर्नु सकिने छ । आयोगले विज्ञापन खुला गरे पनि परीक्षा मिति भने पछि प्रकाशन गरिने जानकारी गराएको छ