समाचार

नेकपा ओली पक्षले आज प्रदेश भेला गर्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूह आज प्रदेशस्तरीय कार्यकर्ता भेलाको तयारीमा छ । उक्त समूहको मंगलबार बसेको पार्टी केन्द्रीय कमिटीको बैठकले आज सातै प्रदेशमा भेला गर्ने निर्णय गरे अनुसार नेताहरुलाई प्रदेशमा खटाइएको छ । पार्टी विभाजनको काम निकै तिब्र गतिमा गरेको यो समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् ।

दुईदिन भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको भेलामा पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रदेशगत प्रशिक्षण दिने कार्यक्रम समेत रहेको नेताहरुले बताएका छन् । बागमती प्रदेशअन्तर्गत आज काठमाडौंमा प्रदेश कमिटीको दुई दिने प्रशिक्षण भेला आयोजना गरिने भएको छ । यो भेलालाई पार्टीका नेता ईश्वर पोखरेलले सम्बोधन गर्दैछन् ।

प्रदेशगत प्रशिक्षण कार्यक्रमका लागि मुख्य वक्ताका रुपमा सुदूरपश्चिममा लेखराज भट्ट, कर्णाली प्रदेशमा शंकर पोखरेल, लुम्बिनीमा टोपबहादुर रायमाझी, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ र टोपबहादुर रायमाझी तथा प्रदेश २ मा शंकर पोखरेल र सत्यनारायण मण्डललाई नेता तोकि खटाइएको छ ।