फिचर

नेपाली सेयर बजार हरियाली, शिवम् सिमेन्टमा झुम्मिए लगानीकर्ता

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको चौथो दिन आज (बुधबार) हरियाली छाएको छ । आज नेप्से ४९.१७ अंकले बढेर दुई हजार ६२ दशमलब ६ विन्दुमा पुगेको छ भने ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई वटा समूह घटेका छन् भने १० वटा समूह बढेका छन् ।

आज कारोबारमा आएका १२ वटा समूहमध्ये होटल र विकास बैंक बाहेक अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ३४८.२१ अंकले बढेको छ भने होटल समूह १९.२४ अंकले घटेको छ ।

कारोबारमा आएका २०८ कम्पनीमध्ये ११७ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको मूल्यमा गिरावट आएको छ । २७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज लगानीकर्ता शिवम् सिमेन्टको सेयरमा झुम्मिएका छन् । यसको आज सबैभन्दा धेरै ३४ करोड ४४ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।

कारोबार रकमकै आधारमा एनआइसी एशिया बैंक ३२ करोड र हिमालयन डिस्ट्रीलरी २८ करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।

बढ्दो बजारमा आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । साल्ट ट्रेडिङ, हिमालयन डिस्ट्रीलरी, नागरिक लगानी कोष र एभरेष्ट बैंकको प्रमोटर सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

यस साता लगातार पोजेटिभ सर्किट लाग्दै आएको नारायणी विकास बैंकको सेयर मूल्यमा भने आज नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशतले गुमाएका छन् ।