विज्ञान प्रविधि

प्रदेशमा पठाउन थालियो कोरोना खोप, एक साता भित्र लगाउन थालिने

File photo

काठमाडौं । कोभिड १९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजबाट प्रदेशमा पठाउन शुरु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई उदृत गर्दै राससले जनाए अनुसार खोप आइतबारसम्म सबै प्रदेशमा पुग्ने भएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउने उद्देश्यले सात वटै प्रदेशमा पठाइएको उनले जनाए ।

भारतबाट ल्याएपछि खोप स्वास्थ्य सेवा विभागको टेकुस्थित केन्द्रीय चिस्यान केन्द्रमा राखिएको छ। प्रदेशबाट जिल्ला अस्पतालमा खोप आवश्यकताका आधारका वितरण गरिने भएको छ । पहिलो चरणको उक्त खोप अस्पताललाई नै खोप केन्द्र बनाएर लगाइनेछ। सात प्रदेश र ७७ जिल्लामा गरी करीब ३०० विभिन्न अस्पतालबाट खोप लगाउने योजना रहेको छ ।

काठमाडौं उपत्यकामा भने १० भन्दा बढी अस्पतालमा खोप वितरण गर्ने योजना छ । उक्त खोप स्वास्स्थ्य संस्थामा कार्यरत कोभिड–१९ व्यवस्थापनमा अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सहयोगी कर्मचारी, एम्बुलेन्स तथा शववाहन चालक, कोभिड–१९ को सङ्क्रमणबाट मृत्यु भएका शवको व्यवस्थापनमा खटिने सुरक्षाकर्मी, स्थानीय तहमा कार्यरत फोहोर व्यवस्थापन तथा सरसफाइकर्मीलाई दिने योजना छ ।

दुई मात्रामा दिइने खोप पहिलोपटक लगाएको एक महिना वा चार हप्तापछि दोस्रो मात्रा दिइने छ । खोप लगाउन सुरू गरेको एक हप्ताभित्र सबै खोप लगाइसक्ने मन्त्रालयको तयारी रहेको उनले जानकारी दिए । सरकारको कुल जनसङ्ख्याको ७२ प्रतिशत मानिसलाई कोभिड–१९ विरुद्ध खोप लगाउने योजना रहेको छ।

पहिलो चरण खोप लगाएपछि सरकारले दोस्रो चरणका लागि ‘कोभ्याक्स सुविधा’ नामक सयन्त्रअन्तर्गत निःशुल्क २० प्रतिशत खोप ल्याउने तयारी गरेको समेत उनले जानकारी दिएका छन् ।

कोभ्याक्समार्फत आउने २० प्रतिशत जनसङ्ख्या पुग्नेबाहेक सरकारले बाँकी ५२ प्रतिशत खोप कूटनीतिक नियोगबाट सरकार–सरकार (जिटुजी), सार्वजनिक खरीद नियमावलीअनुसार र ठेक्कामार्फत ल्याउने योजना रहेको छ ।