समाचार

'भागरथीको हत्या प्रकरण निर्मलाको जस्तै नहोस'

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बैतडी, चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटना यसअघि कंचनपुरमा भएको निर्मला पन्तको हत्या जस्तै नहोस भनी सरकारको ध्यानाकर्षण गराएको छ । घटनामा संलग्न रहेकालाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग समेत नेकपाले गरेको छ ।

अध्यक्षद्धय माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले शनिबार विज्ञप्ति निकाल्दै यो घटनाबाट आफूहरु स्तब्ध भएको उल्लेख गरेका छन् । ‘विद्यालयबाट घर फर्किँदै गरेको बेला वर्ष १७ की किशोरी भागरथी भट्टमाथि भएको पाशविक र अमानवीय कुकृत्यको हामी घोर भत्र्सना गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।

कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाका दोषीहरु पक्राउ नपर्दै भएको बैतडीको यो घटनाले आम नागरिकलाई शान्ति सुरक्षा दिन राज्य संयन्त्र असफल भएको प्रमाणित गरेका समेत विज्ञप्तीमा जनाइएको छ ।

‘विगतमा निर्मला पन्तको अनुसन्धानमा जस्तो यो घटनामा गैरजिम्मेवार नबन्न सरकारससँग आग्रह गर्दै घटनाको सत्यतथ्य सार्वनजिक गरी दोषीमाथि कडा कारबाही गर्न माग गर्दैछौं,’ उनीहरुले भनेका छन् ।

यसअघि बुधबार भएको किशोरीको हत्यामा संलग्नको खोजी भइरहेको र उनीहरुको नजिक पुग्ने प्रमाणहरु फेला पर्ने क्रम जारी रहेको प्रहरीले जनाएको छ ।