स्वास्थ्य

नेपालमा लकडाउनको एक वर्ष, अझै सकिएन स्वास्थ्य चूनौति

file

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न सरकारले गरेको लकडाउनको आज ठ्याक्कै एक वर्ष पुगेको छ । सरकारले गत वर्ष चैत ११ गतेबाट लकडाउन थालेको थियो । यसबीचमा नेपालले पटकपटक गरी चार महिनाभन्दा बढी समय पूर्ण देशव्यापी लकडाउन गर्यो । तर, एक वर्षसम्म पनि स्वास्थ्य सुरक्षा सम्बन्धी चूनौति भने कायम नै रहेको छ ।

नेपालमा भदौबाट लकडाउन सहज हुन थालेको हो । लकडाउनको एक वर्षकै बीचमा विश्वभर कोरोना भाइरसको दोस्रो लहर शुरु भएको छ । यसको असर नेपालमा समेत देखिन थालेको छ । मङ्गलबार मात्र १८८ जना नयाँ सङ्क्रमित थपिए । यो पछिल्लो एक महिनायताकै बढी हो ।

खासगरी छिमेकी मुलुक भारतमा बढ्दो संख्याले नेपालमा पनि चूनौति थपिएको छ । मानिसहरुले कोरोनालाई सामान्य रुपमा लिएर सतर्कताका काम छाड्दा भने नेपालमा समेत जोखिम बढेको छ । अहिले सार्वजनिक यातायात र शहर बजारमा समेत मास्क लगाउने मानिसको संख्या घट्दो क्रममा रहेको छ ।

नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमितको कुल सङ्ख्या दुई लाख ७६ हजार २४४ पुगेको छ ।निको हुनेको सङ्ख्या दुई लाख ७२ हजार ९७ पुगेको छ । देशभर सक्रिय सङ्क्रमित सङ्ख्या एक हजार १२८ छ । अहिले विभिन्न क्वारेन्टाइनमा ४८ जना रहेका छन् । कोरोना सङ्क्रमितबाट मृत्यु हुनेको सङ्ख्या तीन हजार १९ पुगेको छ ।