समाचार

एमालेमा वडा तहसम्मै समानान्तरण कमिटी बनाउने नेपाल समूहको घोषणा

काठमाडौं । नेकपा एमाले भित्रको विवाद चुलिँदै जाँदा पार्टीमा दुई समानान्तर कमिटी अस्तित्वमा रहने भएका छन् । माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’को आज घोषणा गरेको छ ।

समुहले पार्टी एकता गम्भीर संकटमा रहेको निष्कर्ष निकालेको छ । साथै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत यो समुहले गरेको छ ।

अध्यक्ष ओलीले एमालेका उच्च नेतालाई ६ महिना निलम्बन गरेपछि पहिलो पटक नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठक बसेको हो । शुक्रबार र शनिबार बसेको नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुको बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको छ ।


दुई महिने अभियानका क्रममा वडा तहसम्म पार्टी र जनवर्गिय संगठनका कमिटिहरु बन्ने भएका छन् । अधिवेशनबाट निर्वाचित कमिटीलाई पाखा लगाउँदै अध्यक्ष केपी शर्मा ओलीले समानान्तर कमिटी बनाएकाले त्यसको प्रतिरोध गर्नु बाध्यात्मक कदम भएको निष्कर्षमा समेत यो समुह पुगेको छ । यो अभियान पार्टी एकताको रक्षाका लागि भएको नेताहरुले बताएका छन् ।