समाचार

सकियो गैंडा गणना, आज नतिजा सार्वजनिक गरिने

चितवन । गैँडा गणना सम्पन्न भएसँगै आज नतिजा सार्वजनिक गरिने भएको छ । ९ चैतबाट नेपालमा पर्सा राष्ट्रिय निकुञ्जबाट गैंडा गणना थालिएको हो । शुक्रबार गणनाको काम सकिएसँगै नतिजा सार्वजनिक गर्ने तयारी गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा शुक्रबार गणनाको काम सकिएको हो ।

४० मुख्य गणक र २० जना वैकल्पिक गणक खटिएर यस वर्ष गैंडा गणना गरिएको हो । नेपालमा प्रत्येक पाँच वर्षमा गैंडा गणना गर्ने प्रचलन रहेको छ । यो वर्ष कोरोना महामारीका बीच एक वर्ष ढिला गरि गैंडा गणना भएको हो । नेपालमा यसअघि सन् २०१५ मा गैंडा गणना भएको हो ।

निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक, एक गरी गैंडा गनेका हुन् । गैंडाको सङ्ख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन गैंडा गणना गरिन्छ । गणनापछि यसको अवस्था हेरेर व्यवस्थापन हुने गरिएको छ । सन् २०१५ मा कूल ६४५ वटा गैंडा भेटिएका थिए । यस वर्ष गणनामा ४० हात्ती र २०० जनशक्ति खटिएका हुन् ।