समाचार

बुटवलका व्यापारीको शव बागलुङमा भेटियो, हत्या आरोपमा एक पक्राउ

बुटवल । बुटवलमा व्यवसाय गर्दै आएका एक युवकको शव बागलुङमा भेटिएको छ । राष्ट्रिय समाचार समितिका अनुसार बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले बुधबार शव फेला पारेको थियो । मृतकले लगाएको कपडाभित्र रहेका कागजातका आधारमा उनको पहिचानभएको थियो । प्रहरीका अनुसार नवलपरासी जिल्लाको देवचुली नगरपालिका–३ केवरानीका नारायण बस्यालको शव भेटिएको थियो ।

उनी चैत्र ४ गतेदेखि हराएको सूचना बागलुङ प्रहरीमा आएको थियो । बुटवलमा हराएको युवाका आफन्त बिहीबार बागलुङ आएसँगै शवको पहिचान खुलेको राससले लेखेको छ । प्रारम्भिक अनुसन्धानबाट बुटवलमा हत्या गरी शव लुकाउन बागलुङ ल्याएको देखिने प्रहरीले जनाएको छ ।

प्रहरीले व्यवसायमा साझेदारी गर्दै आएका ढोरपाटन–२ रिनाम घर भई बुटवलमा बस्यालसँगै व्यवसाय गर्ने मित्रलाल खनाललाई पक्राउ गरेको छ । उनले आर्थिक लेनदेनको विवादपछि हत्या गरेको स्वीकार समेत गरेका छन् । तर, यस घटनामा उनी एक्लैको संलग्नता नहुने भन्दै थप मानिस समेत शंकाको घेरामा राखी अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ । बुटवलमा हत्या गरी सुटकेशमा शव राखी बागलुङमा लगेर पुरेको पाइएको हो ।