समाचार

प्रदेश नं २ को नाम 'मधेश' राख्न माओवादी केन्द्र र जसपाको प्रस्ताव

जनकपुर । प्रदेश नं २ को नाम ‘मधेश’ राख्न माओवादी केन्द्र र जसपाले प्रस्ताव गरेका छन् । प्रदेश सभा २ सचिवालयले नाम र स्थायी राजधानीका लागि प्रस्ताव दर्ता गराउन सांसदहरुसँग आह्वान गरेको थियो । सोही अनुसार सत्तारुढ जनता समाजवादी पार्टी र माओवादी केन्द्रले समान नाम र राजधानीको प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेशसभा सचिवालयले वैशाख ९ गते भित्रै नाम र स्थायी राजधानीका लागि दल तथा प्रदेशसभा सदस्यलाई आ–आफ्नो प्रस्ताव दर्ता गराउन आह्वान गरेको छ । आइतबार जसपाको तर्फबाट प्रमुख सचेतक शैलेन्द्र यादवले प्रदेशको नामका लागि प्रस्ताव दर्ता गराएका छन् । उनको प्रस्तावमा बबिता कुमारी र रानी शर्मा तिवारीले समर्थन गरेका छन् ।

जसपाले स्थायी राजधानीका लागि जनकपुरधाम शहरी क्षेत्र सहित उत्तरमा पूर्वपश्चिम लोकमार्ग, पूर्वमा कमला नदि, दक्षिणमा नेपाल भारत सीमा र पश्चिममा मिथिला माध्यमिकि परिक्रमा मार्ग क्षेत्र भित्र प्रस्ताव गरेको छ । माओवादी केन्द्रले राजधानीका लागि जनकपुरधामको अन्तगृह परिक्रमा क्षेत्रलाई राजधानीको रुपमा प्रस्ताव गरेको छ । यहाँ एमाले र नेपाली कांग्रेसको प्रस्ताव आइसकेको छैन ।