मनोरञ्जन

सेतो मच्छेन्द्रनाथको रथयात्रा हेर्न राष्ट्रपति जाँदै

काठमाडौं । आजबाट काठमाडौंमा सेतो मच्छेन्द्रनाथको रथयात्रा शुरु हुँदैछ । रथयात्रा अवलोकन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी जाने कार्यक्रम तय भएको छ । रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिने कार्यक्रम छ ।

रथयात्रा आज बेलुकी ६ बजे शुरु हुने छ । पहिलो दिन आज करिब ७ बजे रथ असनमा लगी राखिने भएको छ । असनमा आज राति राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम राखिएको हो । रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिनेछ ।

तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गरिन्छ । ३२ हात लामो रथलाई असन, बसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छेन्द्रबहालमा ल्याएर जात्रा सम्पन्न गर्ने प्रचलन रहेको छ । सरकारले २५ जना भन्दा बढी मानिस भेला नहुने भनेको छ । तर, जात्रा महोत्सव रोक्न नसक्दा कोरोना जोखिम भने उस्तै रहने छ ।