स्वास्थ्य

दैनिक संक्रमणको आंकडामा अमेरिकालाई भारतले उछिन्यो

Photo : The Indian Express

नयाँ दिल्ली । कोरोना भाइरसको दैनिक संक्रमण दरमा भारतले अमेरिकालाई उछिनेको छ । भारतमा बुधबार एकैदिन ३ लाख १६ हजार मानिसमा कोरोनाभाइरसको संक्रमण भएको भारतीय संचारमाध्यमले जनाएका छन् । यो आंकडा सहित भारत एकैदिन सबैभन्दा बढी संख्यामा कोरोना देखिने विश्वको पहिलो मुलुक बनेको छ ।

यसअघि संयुक्त राज्य अमेरिकामा एकैदिन कोरोनाभाइरसका ३ लाख ७ हजार ५ सय मानिसमा कोरोना संक्रमण भएको आंकडा आएको थियो । त्यो जनवरी ८ मा थियो । संक्रमण दर र मृत्युदर दुबै बढ्दा यतिबेला भारत आक्रान्त बनेको छ । बुधबार भारतभरि २ हजार १ सय २ जनाले ज्यान गुमाए ।

भारतमा दैनिक संक्रमितको संख्या १ लाखबाट तीन लाख पुग्न जम्मा १७ दिन लागेको छ। अप्रिल ४ मा पहिलो पटक दैनिक संक्रमितको संख्या १ लाख पुगेको थियो। भारतमा महाराष्ट्र, दिल्ली, केरला, उत्तर प्रदेश, छत्तीसगढलगायत राज्यमा कोरोना तिब्र गतिमा फैलिएको छ ।

भारतमा अहिलेसम्म १ करोड ५९ लाख मानिसमा कोरोना संक्रमण भएको छ । १ लाख ८४ हजार संक्रमितले ज्यान गुमाएका छन्। भारतको संक्रमण दरले नेपालमा समेत जोखिम बढाएको छ ।