फिचर

नेपाली शेयर बजारमा भीषण पहिरो, किन लाग्यो ओरालो ?

काठमाडौं । नेपाली शेयर बजारमा भीषण पहिरो गएको छ । गत साता करिब १०० अंकले घटेको बजार आज एकै दिन ७५ अंकले घटेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचनको घोषणा गर्दा पनि कुनै प्रतिक्रिया नदिएको शेयर बजारको करेक्सनलाई लगानीकर्ताहरुले चासोको रुपमा लिएका छन् ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै लकडाउन हुने हल्लाले लगानीकर्ताको मनोबल गिर्दा बजारमा असर देखिएको आकलन गरिएको छ ।

सरकारले पूर्ण लकडाउन नहुने बताउँदै आए पनि लगानीकर्ता निराशावादी हुँदा बजारमा गिरावट आएको लगानीकर्ताको भनाइ छ । सूचकमा ठूलो गिरावट आए पनि कारोबार रकम भने उत्साहजनक नै रहेकाले आत्तिहाल्नु पर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ ।

यो बेला सकभर शेयर होल्ड गर्नुपर्ने विश्लेषकहरुको भनाई छ । अहिले राम्रा र बलिया कम्पनीको शेयर किन्ने अवसर भएकोले यस्तो बेला बजारबाट बाहिरिने भन्दा पनि भित्रिनु बुद्धिमानी हुने विश्लेषकहरुको दाबी छ ।

शेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुनै नीतिनियम परिवर्तन नभएकाले बजार निरन्तर ओरालो लागे लागेपनि लगानीकर्ताहरु निराश हुनुपर्ने अवस्था छैन् ।

साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आइतबार नेप्से ७५.७९ अंकले घटेर २५७२.२१ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१५ कम्पनीको ७ अर्ब २८ करोड ४१ लाख ९४ हजार ९०१ रुपैयाँ बराबरको १ करोड ४६ लाख ९० हजार ७२० कित्ता शेयर किनबेच भएका छन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये सबै परिसूचक राताम्मे भएका छन् ।

आज कारोबारमा आएका २१५ कम्पनीमध्ये जम्मा ८ कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

यस दिन बैंकिङ ४२, ब्यापार ११३, होटल तथा पर्यटन २२०, विकास बैंक ८६, जलविद्युत ११२, फाइनान्स ४३, निर्जीवन बीमा ४४०, उत्पादन १३६, अन्य ४७, माइक्रोफाइनान्स १६०, जीवन बीमा ४६० र लगानी समूह ३ अंकले घटेका छन्।

चन्द्रागिरि हिल्सको मूल्य सबैभन्दा धेरै ८.४३ प्रतिशतले घटेको छ। आजको कारोबारपछि कम्पनीको मूल्य प्रतिकित्ता १९५५ रुपैयाँ कायम भएको छ।

नारायणी डेभलपमेन्ट बैंकको मूल्य ८.१ प्रतिशतले घटेर ५२७ रुपैयाँमा झरेको छ। त्यस्तै रिडी हाइड्रोपावरको मूल्य ७.६ प्रतिशतले घटेर २०५ रुपैयाँ कायम भएको छ।