समाचार

देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई प्रस्ताव गरि हस्ताक्षर गरेका १४९ सांसद संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनले एक स्वरमा यो कदमको विरोध गरेका छन् । आज दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । सम्भवतः आजै रिट दायर गर्ने तयारी रहेको बताइएको छ ।राष्ट्रपति र सरकारको कदमको कानुनी उपचार गर्ने निर्णय भएसँगै दलहरु सर्वोच्च जान लागेका हुन् ।


शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलसमेत सहभागी संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो । विपक्षी दलको बैधानिक दाविलाई लत्याउँदै राष्ट्रपतिले दाबी नपुगेको भन्दै प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मध्यराति संसद विघटनको निर्णय गरेकी थिइन् । साथै उनले कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचन समेत घोषणा गरेकी छिन् । कोरोना भाइरसको महामारीका बीच आएको यो कदमको व्यापक आलोचना भइरहेको छ ।