समाचार

प्रधानमन्त्री ओलीलाई झट्का दिने 'एकै दिनका चार निर्णय'

काठमाडौं । राजनीतिक रुपमा निकै चतुर रुपमा खेलिरहेका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्ला दिनमा केही गलेका छन् । खासगरी विपक्षी दल एकजुट भएर उनीविरुद्ध सक्रिय मात्र भएनन्, नतिजामा समेत त्यसले प्रभाव पार्न थालेको छ । आज ओलीका तीन वटा निर्णय उल्टिएका छन् । एक प्रदेशमा उनको समर्थन रहेको सरकार ढलेको छ ।

आज गण्डकी प्रदेशमा ओलीको समर्थनमा रहेको सरकार ढलेको छ । ३१ सांसदको साथ पाउनु पर्ने प्रदेश सभामा मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पक्षमा मात्र २७ भोट आयो । यो प्रदेशमा एमाओवादीको साथ लिएर कांग्रेसले सरकार बनाउने गृहकार्य थालेको छ ।


बिहीबार नै सर्वोच्च अदालतबाट प्रधानमन्त्री ओलीका तीन निर्णय उल्टिएका छन् । यसमा मधेषवादी दलका नेताको सत्ताको भर्यांग बनेको नागरिकतासम्बन्धी अध्यादेश कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी भएको छ । यसले ओलीलाई ठूलो धक्का लागेको छ ।

सर्वोच्चले विधायिका छलेर ल्याइएको अध्यादेशलाई वैधानिकता दिएन । आजै सर्वोच्चले कर्णालीमा एमाले ओली पक्षले कारवाही गरेका सांसदलाई पुनर्वहाली गर्ने आदेश गरेको छ ।

साथै सर्वोच्चले एमालेको १० औं महाधिवेशन आयोजक कमिटी भनी ओलीले गठन गरेको समितिलाई समेत अवैधानिक घोषित गरेको छ । अब ओली २ जेठ २०७५ मा फर्कनु पर्छ । त्यस अवस्थामा एमालेमा माधव नेपाल पक्ष बलियो रहने छ ।

ओली पक्ष अल्पमतमा हुने छ । किनकी आयोजक कमिटीमा ओलीले आफु निकटका नेताहरुलाई राखेका थिए । एमालेको १० औं महाधिवेशन समितिलाई मान्यता नदिएपछि एमालेले कारवाही गरेका ११ नेतामाथिको कारवाही समेत अवैधानिक हुने छ ।