फिचर

आज साउने संक्रान्ती, शुरु भए चाडबाड

काठमाडौं । नेपालको मूख्य अनाज धान रोप्ने काम करीव सम्पन्न भएको छ । यससँगै अब हिन्दु धर्मावलम्बीका चाडबाडहरु शुरु हुनेछन् । सोही क्रममा आज देश तथा विदेशमा रहेका नेपालीले साउने संक्रान्ती पर्व मनाउँदैछन् । आज स्नान, दान गर्ने र आफन्त जम्मा भई मिठो मसिनो खाई यो पर्व मनाइन्छ । साउने संक्रान्तिको अवसर पारि कर्णाली प्रदेश सरकारले आज सार्वजनिक बिदा समेत घोषणा गरेको छ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज हो । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिंड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुने गर्छ । माघ १ गतेबाट भने उत्तरायण शुरु हुन्छ । त्यसबेला भने चाडबाड सकिएर मानिस काममा बढी केन्द्रित हुन्छन् । आज लुतो फाल्ने दिनका रुपमा समेत महत्व छ ।

कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रुपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्ने प्रचलनलाई लुतो फाल्ने भनिएको हो । साउनमा महिलाले हरियो, पोते, मेहन्दी, चुरालगायत हरियो कपडा लगाउँछन् । भगवान शिवको ब्रत बस्ने गर्छन् । साउनका हरेक सोमबार शिवको सोमबार मानिन्छ । सोहीकारण शिवालयमा ठूलो भिड लाग्छ ।