समाचार

नेम्वाङलाई प्रश्न -‘धारा ७६ (५) तपाइलाई बढी थाहा थियो,किन लेखेको’

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा सर्वोच्चको परमादेश अनुसार प्रधानमन्त्री भएको भन्ने प्रमुख प्रतिपक्षी एमालेको टिप्पणी गलत भएको बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा आफूलाई बधाई दिने सांसदलाई धन्यवाद दिने क्रममा प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) बारे अरुलाई भन्दा नेम्वाङलाई बढी थाहा भएको तर गलत ब्याख्या गरेको बताए।

शुभकामना दिने दलहरूलाई धन्यवाद दिँदै उनले आफू संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री भएको भन्दै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङप्रति प्रश्न गरे,’ संविधानमा धारा ७६ (५) को प्रावधान किन लेखेको ? यसमा प्रष्ट हनुपर्ने तपाईं आफैँ अपव्याख्या गर्ने ?’

‘उहाँ आफूले बोलेर जवाफ नसुनिकन हिँडिसक्नुभएछ’,नेम्वाङप्रति लक्षित गर्दै प्रधानमन्त्री देउवाले भने, धारा ७६ (५) किन राख्नुभो भनेर सोध्नेवाला थिएँ। अरुलाई भन्दा उहाँलाई बढी थाहा थियो, राम्रो ब्याख्या गर्नुहोला भनेको तर उल्टो बोलेर हिँड्नुभो’

बैठकको सुरुमै प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा बोलेका नेम्वाङ देउवाले धन्यवाद मन्तव्य दिने क्रममा संसद भवनबाट हिँडिसकेका थिए।

नेम्वाङले अब कहिल्यै पनि संविधान भत्किने छैन र संसद भंग हुने छैन भनेको आफूले सम्झिरहेको देउवाको भनाइ थियो। उनले आफूहरुले विश्वासको मत लिने क्रममा ह्वीप जारी नगरेको पनि स्पष्ट पारे।

‘ह्वीप लगाएको होइन, भोट हाल भनेको हो’, उनले भने, ‘अनुरोध गरेको कुरालाई ह्वीप भन्न कहाँ मिल्छ ?’

राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमत सदस्यको हस्ताक्षर पेश गरेको व्यक्तिलाई संसदबाट विश्वासको मत लिन आह्वान गर्नुपर्नेमा नगरेको र हस्ताक्षर सनाखत समेत नगरी निवेदन खारेज गरेकाले अदालत जानुपरेको उनको भनाइ थियो । देउवाले आफू संवैधानिक रूपमै प्रधानमन्त्री बनेको दाबी गरे ।

उनले अब आफ्नो सरकारको पहिलो प्राथमिकता कोरोना खोप भएको भन्दै जति महंगो भए पनि किनेर सबैलाई उपलब्ध गराउने बताए।