मनोरञ्जन

आज देशभर नाग पञ्चमी मनाईदैं

काठमाडौं । प्रत्येक वर्ष मनाइने नाग पञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजा गरी मनाउन थालिएको छ । आज घरको मूल ढोकामा नागको चित्र टाँसेर पूजा गर्ने गरिन्छ । घरका मूलढोकामा नागको तस्वीर टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने जनविवास छ । अग्नि, मेघ र चट्याङको भयबाट समेत बच्न सकिने धार्मिक विश्वास रहेको छ ।

आज बिहानैदेखि काठमाडौंको नागपोखरी र टौदह, भक्तपुरको सिद्धपोखरी लगायत देशभरका नागदह, कुण्ड र नागस्थानमा गाईको दूध, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्नेहरूको घुइँचो लाग्ने गर्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा नागको पूजा गर्ने वैदिक सनातनकालदेखिको परम्परा छ ।

अनन्त, वासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख गरी आठ नागलाई आजको दिन ब्राह्मण पुरोहितबाट पूजाआजा गरी घरको ढोकामाथि टाँसिन्छ । आजको दिन घरमा नाग टाँसेपछि खेतबारीमा खनजोत नगर्ने र नाग, सर्प लगायतका घिस्रने जनावरलाई मार्नु हुँदैन भन्ने मान्यता रहेको छ ।