फिचर

नेपाली सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम २१ अर्ब नाघ्यो

काठमाडौं । आज सेयर बजारमा तीव्र उतरचढाव आएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रभाव पर्दा बजारमा तीव्र उतरचढाव देखिएको हो ।

बजार खुल्नसाथ ओरोलो लागेको बजार ७० अंकसम्म ओरालो लागेको थियो भने अन्त्यमा २४ अंकले घटेर बन्द भएको छ । बैंकिङ, माइक्रोफाइनान्स समूह सम्हालिए पनि जलविद्युत्, फाइनान्स र विकास बैंक समूहको सेयरमा पहिरो गएको छ ।

राष्ट बैंकले सेयर बजारलाई प्रत्यक्ष असर पर्ने सेयर धितो कर्जाको मूल्यांकनमा कुनै फेरबदल नगरे पनि कर्जाको सीमा तोक्दा ठूला खेलाडी असर पर्ने भएपछि तीव्र उतरचढाव आएको हो ।

एक व्यक्तिले अधिकतम् एउटा बैंकबाट ४ करोड र सबैसंस्थाबाट गरी १२ करोडभन्दा बढी ऋण लिन नपाउने व्यवस्था गरेको छ । यसले साना लगानीकर्तालाई असर नगरे पनि ठूला खेलाडीलाई भने प्रत्यक्ष असर गर्ने देखिन्छ ।

दिनभर उतरचढाव आएको बजारमा कारोबार रकमले भने नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन साढे २१ अर्ब बढीको कारोबार हुँदै सर्वाधिक कारोबारको रेकर्ड बनेको छ । यो नेपाली सेयर बजारमा इतिहासमै एकैदिन भएको सर्वाधिक कारोबार हो । यसअघि गत जेठ ३१ गते सर्वाधिक १९ अर्ब ७० करोडको कारोबार भएको थियो ।

ठूलो अंकले बजार घट्दा लगानीकर्ता आँत्तिएर सेयर बेच्दा र घटेको मौकामा सेयर उठाउने हाबी हुँदा कारोबार रकमले नयाँ रेकर्ड बनाएको हो ।

आज सेयर बजार मापक सूचक नेप्से २४.५७ अंकले घटेर ३१५४.०८ विन्दुमा आइपुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २२२ कम्पनीको २१ अर्ब ६४ करोड ७६ लाख ६५५ रुपैयाँ बराबरको ३ करोड ५५ लाख ५० हजार ६८८ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये ३ समूहको परिसूचकमा हरियाली छाएको छ १० समूहको परिसूचक राताम्मे भएका छन् । उत्पादनमूलक समूह सबैभन्दा धेरै २.३५ अंकले बढेको छ भने हाइड्रोपावर समूह ४.१३ अंकले घटेको छ । यस्तै, विकास बैंक र फाइनान्स समूह पनि २ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज कारोबारमा आएका २२२ कम्पनीमध्ये जम्म ६५ कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ कम्पनीको मूल्यमा गिरावट आएको छ । ८ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ । यसको एकैदिन १ अर्ब ५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । कारोबार रकमकै आधारमा हिमालयन डिस्टीलरी ७९ करोड र अपी पावर ७० करोडको कारोबार सहित शीर्ष तीन स्थानमा रहे ।

दोहोरो अंकले घटेको बजारमा पनि आज ४ कम्पनीको सेयर मूल्य पोजेटिभ सर्किट लागेको छ । युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त र खानीखोला हाइड्रोपावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ । यस्तै, आइसीएफसी फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।