फिचर

संसदका दुबै सदनको अधिवेशन अन्त्य, एमाले फुटाउन अध्यादेश ल्याउने चर्चा

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेकी छिन् । सोमबार बिहान बसेको मन्त्रिपरिषदको बैठकले राष्ट्रपति भण्डारी समक्ष चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट पठाएको पत्र पढेर सुनाउँदै संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य भएको जानकारी गराएका हुन् ।

उनले संसदीय संसदको दुवै सदनको चालू अधिवेशन साउन ३२ गते राति १२ बजेदेखि अन्त्य गरिएको जानकारी दिए । सर्वोच्च अदालतले प्रतिनिधिसभा ब्यूँत्याएपछि गत साउन ३ गतेबाट अधिवेशन सुरु भएको थियो । चालू अधिवेशन प्रतिनिधिसभा पुनर्स्थापनापछिको पहिलो अधिवेशन हो । यसैबीच, सरकारले अकस्मात संसद अन्त्य गरेपछि विपक्षी दल एमालेका नेताहरुले सशंकित बनेका छन् । उनीहरुले एमाले फुटाउन राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको समेत आंशका गरेका छन् ।