समाचार

भारतले विश्व मै पहिलो पटक कोरोनाको डीएनए खोपलाई दियो स्वीकृति

नयाँ दिल्ली । भारतले विश्वमै पहिलो पटक कोरोना भाइरस विरुद्धको डीएनए खोपलाई मान्यता दिएको छ । भारतको औषधि नियामक निकायले आपतकालीन प्रयोगका लागि कोरोनाभाइरसविरुद्ध निर्मित विश्वको पहिलो डीएनए खोपलाई स्वीकृति प्रदान गरेको भारतीय संचारमाध्यमले लेखेका छन् । तीन मात्रा दिनुपर्ने जाईकोभ-डी नामक उक्त खोप लिएका ६६ प्रतिशत मानिसमा लक्षणयुक्त सङ्क्रमण हुन नपाएको खोप उत्पादन गर्ने कम्पनी क्याडिला हेल्थकेअरले गरेको एउटा अध्ययनमा देखिएको समेत बताइएको छ । बीबीसीका अनुसार हरेक साल एक करोड २० लाख मात्रा खोप उत्पादन गर्ने क्षमता कम्पनीसँग छ । यो भारतमै निर्मित दोस्रो कोभिड खोप हो।


यसअघि निर्माण गरिएका डीएनए खोपहरूले पशुमा मात्र राम्ररी काम गरेका थिए। भारतमा कोभिशील्ड, कोभ्याक्सीन र स्पुत्निक भी गरी तीन किसिमका खोप प्रयोगमा छन्। अहिलेसम्म ती खोपका ५७ करोड मात्रा दिइसकिएको छ। क्याडिला हेल्थकेअरका अनुसार उक्त खोपको भारतमा गरिएको सबैभन्दा ठूलो क्लिनिकल परीक्षणमा २८,००० जना स्वयंसेवी सहभागी भएका थिए। त्यसका लागि ५० वटाभन्दा बढी केन्द्रहरू सञ्चालित भएको समाचारमा उल्लेख छ ।

उक्त कम्पनीले भारतमा पहिलो पटक १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीमा कोभिड १९ को खोपको परीक्षण गरिएको दाबी गरेको छ। उक्त खोप त्यो उमेर समूहका मानिसमा सुरक्षित र एकदमै सह्य भएको पाइएको क्याडिला हेल्थकेअरको दाबी छ। उक्त खोपको क्लिनिकल परीक्षणको तेस्रो चरण भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहर उत्कर्षमा पुगेको बेला गरिएको थियो। त्यसबाट विशेषगरी अतिसङ्क्रामक डेल्टा भेरिअन्टजस्तो कोरोनाभाइरसको उत्परिवर्तित प्रकारविरुद्धू उक्त खोपको प्रभावकारिता सिद्ध भएको खोप निर्माताको विश्वास छ।

डीएनए खोप लिएपछि त्यसले पनि अरू खोपले जस्तै शरीरको प्रतिरोध प्रणालीलाई भाइरससँग सङ्घर्ष गर्न सिकाउने बीबीसीले लेखेको छ । जाईकोभ डीमा प्लाज्मिड भनिने साना गोलाकार डीएनए प्रयोग गरिएको छ। खोपमा भएको आनुवंशिक सूचनावाहक त्यस्तो डीएनए मानिसको छालाको दुई तहको बीचमा पुग्छ। कोरोनाभाइरसले मानवकोषमा टाँसिन र भित्र प्रवेश गर्न प्रयोग गर्ने काँडेदार स्पाईक प्रोटीन बनाउन लगाउने सङ्केत ती प्लाज्मिडमा हुन्छ। अधिकांश कोभिड खोपहरूले मानवशरीरलाई स्पाईक प्रोटीन बनाउन लगाउने निर्देशन दिन्छन्। त्यसबाट मानिसको प्रतिरोध प्रणाली सक्रिय भई कोरोनाभाइरसविरुद्ध एन्टिबडी उत्पादन हुन थाल्छ र शरीरलाई उक्त भाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्छ।