विश्व

अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी महिलाबाट जहाजमै सन्तान पैदा

US AIR MOBILITY COMMAND/ TWITTER\BBC

लण्डन । अफगानिस्तानबाट अमेरिकी सैन्य जहाज चढेकी एक महिलाले जहाजमै सन्तान पैदा गरेकी छिने । बीबीसीका अनुसार उनी अफगान नागरिक हुन् । उद्धारका लागि परिचालन गरिएको अमेरिकी उडानका क्रममा उनले जर्मनीमा बच्चा जन्माएकी हुन् । आइतवार सामाजिक सञ्जाल ट्विटरमा यूएस एअर मोबीलीटी कमान्डले ती महिला आफ्नो परिवारसँग मध्यपूर्वबाट यात्रा गरिरहेका बेला प्रसव पीडा सुरु भएको उल्लेख गरेको छ ।

उनको अवस्था जटिल हुँदै गएपछि विमानका कमान्डरले विमानमा हावाको चाप बढाउन उडानको उचाइ कम गर्ने निर्णय गरेका थिए । यसले उनलाई स्थिर बनाउन र आमाको ज्यान बचाउन मद्दत गरेको थियो । जर्मनीको विमान अवतरण हुने बित्तिकै अमेरिकी सैन्य चिकित्सकहरूको टोली आइपुग्यो र बच्चा जन्माउन सहयोग गरेको समाचारमा उल्लेख छ । बच्चा र आमा दुवैको अवस्था राम्रो रहेको बताइएको छ । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको छ ।