समाचार

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा विश्वासको मत पाएका छन् ।

सोमबार अपरान्ह बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री केसीले संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम विश्वासको मत पाएका हुन् ।

आफूलाई प्रदेशसभाको विश्वास छ भनी मुख्यमन्त्री केसीले राखेको प्रस्तावको पक्षमा ४२ र विपक्षमा शून्य मत परेको छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको प्रदेशसभा बैठक भने प्रमुख विपक्षी दल नेकपा एमालेले बहिस्कार गरेको थियो । त्यसैले विपक्षमा मत नपरेको हो ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार नियुक्त संयुक्त सरकारको मुख्यमन्त्री, उपधारा (३) अनुसार नियुक्त अल्पमतको मुख्यमन्त्री र उपधारा (५) अनुसार विश्वासको मत प्राप्त गर्ने आधार पेश गरी नियुक्त मुख्यमन्त्रीले नियुक्त भएको ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

मतदानमा उपस्थित ४३ जना मध्येमा ४२ मत परेको छ । लुम्बिनी सभामा नेपाली कांग्रेसका १९, माओवादीका १९, जसपाका ३, जनमोर्चाका १ सांसद छन्। एमाले ३८ जना छन्।
उनले प्रदेशसभामा विश्वासको मत माग्दा प्रमुख प्रतिपक्षी नेकपा एमालेले भने बैठक बहिस्कार गरेका थिए ।