स्थानीय

पत्रकारलाई गाली बेइजती गर्नेविरुद्ध मुद्दा दायर, दुई वर्षको जेल सजाय माग

काठमाडौं । टेलिभिजन कार्यक्रम ‘गरिबका लागि न्याय’ का पत्रकारमाथि गाली बेइजती गर्ने भक्तपुर ठिमीस्थित द्रब्य बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष विरेन्द्र जयना र सोही सहकारीका सचिव नरेन्द्रप्रसाद ढकालविरुद्ध मुद्दा दायर भएको छ । जयना साफ ऐजुकेशन फाउण्डेशनका संचालक, सुप्रिम स्कुलका अध्यक्ष तथा प्रधानाध्यापक समेत हुन् । एक सय जनाभन्दा बढी कानुन व्यवसायीको सहकार्यमा संचालित ‘गरिबका लागि न्याय’ कार्यक्रमका पत्रकारमाथि दुव्र्यवहार र गाली बेइजती गर्ने जयना र ढकालविरुद्ध जिल्ला अदालत भक्तपुरमा मुद्दा दायर भएको हो । मेघा न्युज नेटवर्कद्धारा संचालित कार्यक्रममार्फत गरिब र अन्यायमाम परेकाको विषयबस्तु उजागर गर्ने र निःशुल्क रुपमा कानुनी सहायता दिने गरिएको छ ।

कार्यक्रमका प्रस्तोता बिकल गिरीले सहकारी संस्थाले गरेको अनियमितताबारे बुझ्न खोज्दा जयना र ढकालले गाली बेइजती गरेका थिए । होटेल तथा गोप्य स्थानमा भेट्न खोज्ने जयनाले महाराजगञ्ज चोक नजिक एक रेष्टुरेन्टमा पत्रकारलाई भेट्न बोलाएर अनियमितताको विषय बाहिर नल्याउन भन्दै आर्थिक प्रलोभन देखाएको पत्रकार गिरीले जानकारी दिएका छन् । पत्रकार प्रलोभनमा नपरेपछि यदि विषय बाहिर ल्याए राम्रो नहुने भन्दै धम्की दिएका थिए ।


उनले पत्रकारलाई डर, धम्की दिने, बल प्रयोग गर्ने, अपशब्द बोल्ने र भक्तपुरका करिव दुई सय भन्दा बढी सहकारीलाई पत्राचार गर्दै बेइजतीसमेत गरेका छन् ।
बेइज्जती गरे वा गराएमा निजलाई २ वर्ष सम्म वा २० हजार रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने कानुनी व्यवस्था छ । विद्युतीय वा अन्य आमसंचारका माध्यमबाट बेइजती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्ष सम्म कैद र दश हजार रुपैयासम्म जरिवाना गरिने उल्लेख छ । उनीहरुलाई २ वर्ष कैद र २० हजार जरिवाना गरी कानुन बमोजिम जरिवाना क्षतिपूर्ति तथा अदालती खर्चसमेत विपक्षीबाट भराउन माग गरिएको छ ।


जनतासँग प्रत्यक्ष सरोकार राख्ने स्कुल तथा सहकारीको संचालकले सम्पुर्ण काम निजी स्वार्थमा प्रयोग गरेको लिखित जानकारी आएपछि अनुसन्धानमा लागेका बेला पत्रकार गिरीले बेइजती तथा दुव्र्यवहार सहनु परेको बताएका छन् । गिरीले बाबुकृष्ण भासिंक, पदमकृष्ण भासिंक श्रेष्ठ र कृष्णभक्त भासिंकको लिखित निवेदनका आधारमा जयनासँग गत साउन २५ गते अन्तर्वार्ताका लागि समय लिएका थिए ।

गिरीको तर्फबाट दायर गरिएको मुद्दामा भनिएको छ, ‘०७८ साउन २५ गतेका दिन अध्यक्षसँग अन्तरर्वार्ता लिन जाँदा आफुले गरेका गलत कामका कर्तुत सम्पूर्ण बचतकर्ता तथा शेयर सदस्यहरुले थाहा पाउने भएकोले करिव १६ जना हेर्दै लडाकु जस्ता देखिने व्यक्तिहरु जम्मा गरी अन्तरर्वार्ता दिनुको साटो अफिसको चुक्कुल लगाई हामीलाई अपमानजक शब्दहरु प्रयोग गरी शारीरिक तथा मानसिक रुपमा तर्साउने काम गरी त्यहाबाट बेईजतिपुर्ण तरिकाले अन्तरवार्ता दिन नमानि निकालेको र मलगायत मेरो संचार गृह मेघा न्युज नेटवर्क प्रालि. समेतको नाम उल्लेख गरी गुण्डा र गुण्डागर्दी गरेको भन्ने शब्द प्रयोग गरी भक्तपुर जिल्लाका करिव २०० वटा सहकारीमा पत्र समेत पठाई मिति २०७८ साउन ३० गते बिहान ८ बजेदेखि आफ्नो कार्यालयमा बैठक समेत गरेको हुँदा उक्त शब्दहरुले म फिरादीलगायत मेरो संचार गृह समेतको सामाजिक प्रतिष्ठानमा गम्भीर आँच आउने कार्य गरेको हुँदा कारबाही गरी न्याय इन्साफ पाऊँ ।’


सहकारी, स्कुल र फाउण्डेशन समूहमा खोलिएको छ । संस्था फाईदामा गएपछि ६४.५ प्रतिशत शेयरधनीलाई निर्णय नगराई मनोमानी रुपमा आर्थिकलगायत अन्य कार्य गर्ने, अवैध रुपमा संचालक समितिको अध्यक्ष परिवर्तन गर्ने, निवेदक बहुमत शेयरधनी हुँदा समेत कुनै निर्णय प्रकृयामा सहभागि नगराउने गरेको आरोप समेत जयनामाथि लगाएका छन् ।

द्रब्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा ब्यक्तिगत रुपमा लिएको ऋण चुक्ता गरिसक्दा समेत फाउण्डेशनको ऋण चुक्ता नहुँदासम्म धितोको रुपमा रहेको जग्गा वर्ष बितिसक्दा समेत फुकुवा नगरेको, आफु ६४.५ प्रतिशतको धनि भएकोले फाउण्डेशनको ऋण चुक्ता गर्दा समेत त्यसमा क्लियरिङ भएको चेक बैकको शाखा प्रवन्धकसँगको मिलेमतोमा कानुन बिपरित पुणः रिभर्स गर्न लगाई अवैध रुपमा वित्तिय अपराधको काम गरेको आरोप समेत उनीमाथि लगाइएको छ ।