समाचार

माओवादीले तोक्यो नेताहरुको जिम्मेवारी, महरा बने प्रवक्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेताहरुको जिम्मेवारी तोकेको छ । अब पार्टी प्रवक्ताको जिम्मेवारीमा कृष्णबहादुर महरा आएका छन् । यसअघि यो जिम्मेवारीमा पम्फा भुसाल थिइन् । उनी मन्त्री बनेकी छिन् । एमालेसँगको पार्टी एकता भत्किएपछि भने प्रवक्ताको जिम्मेवारी नारायणकाजी श्रेष्ठले प्रवक्ताको जिम्मेवारी सम्हालेका थिए । यता, महरा भने पूर्वसभामुखसमेत हुन् । माओवादीले प्रचार तथा प्रकाशन विभाग प्रमुखमा समेत महरालाई तोकेको छ ।

माओवादी केन्द्रले केन्द्रीय कमिटी र स्थायी कमिटी बैठकका निर्णयअनुसारप्रदेश समिति, पार्टी विभाग, जिल्ला ईञ्चार्जहरूसमेत तोकेको हो । अब प्रदेश नम्बर १ मा सुरेन्द्र कार्की ईञ्चार्ज बनेका छन् । अध्यक्षमा सुरेन्द्रकुमार राईलाई तोकिएको छ ।
प्रदेश नम्बर २ को ईञ्चार्जमा गणेश शाह तोकिएक छन् । अध्यक्ष तोकिएको छैन । बागमती प्रदेश ईञ्चार्जमा हितमान शाक्य र अध्यक्षमा नारायण दाहाल तोकिएका छन्।
गण्डकी प्रदेश ईञ्चार्जमा हितराज पाण्डे र अध्यक्षमा हरि अधिकारीलाई तोकिएको छ । लुम्बिनीको ईञ्चार्जमा चक्रपाणी खनाल बलदेव र अध्यक्षको जिम्मेवारी ओनसरी घर्तीले पाएको बताइएको छ । कर्णालीमा ईञ्चार्ज शक्ति बस्नेत र अध्यक्ष राजकुमार शर्मा तोकिएका छन् । सुदूरपश्चिम प्रदेश ईञ्चार्जमा खगराज भट्ट तोकिएका छन् ।

यहाँ अध्यक्ष तोक्न बाँकी छ। माओवादीले विशेष समिति ईञ्चार्जमा लिलामणि पोखरेल र अध्यक्षमा लेखनाथ न्यौपानेलाई तोकेको छ। प्रवास समिति ईञ्चार्जमा नारायणकाजी श्रेष्ठ र अध्यक्षमा ओम शर्माले जिम्मेवारी पाएका छन् । अर्थ तथा योजना विभाग प्रमुखमा वर्षमान पुन, कृषि तथा भूमिसुधार प्रमुखमा हरिबोल गजुरेल, निर्वाचन विभागमा खिमलाल देवकोटा, विदेश मामला विभागमा सुरेन्द्र कार्की, संगठन विभाग प्रमुखमा जनार्दन शर्मा, राष्ट्रिय सुरक्षा विभागमा कृष्णबहादुर महराले जिम्मेवारी निभाउने छन् ।

स्वास्थ्य विभागमा कल्पना धमला, स्कुल विभाग ईञ्चार्जमा प्रचण्ड र प्रमुखमा गिरिराजमणि पोखरेल छन्। सहरी विकास विभागमा देवेन्द्र पौडेल, स्थानीय तह विभागमा उर्मिला अर्यालले जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार विभागमा हरि अधिकारी र नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा रामचन्द्र झा रहेका छन् ।