समाचार

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता भएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले यो पार्टी गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको हो । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै यो पार्टीले अब औपचारिक मान्यता पाएको हो ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका थिएनन् ।

दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेसँगै दल गठन भएको हो । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिएर रोज्ने समय दिइने छ ।