स्वास्थ्य

१८५७ मा कोरोना पुष्टी, २७ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाभाइरस सङ्क्रमणको गति केही थामिएको देखिएको छ । तर, मृत्युदर भने उच्च नै रहेको छ । नेपालमा अगस्टपछि संक्रमण केही कम भएको हो । अहिले समेत यो गति कायम छ । शनिवार नेपालमा थप थप १,८५७ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ । यो अवधिमा २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । पछिल्लो १२ दिनयताको तथ्याङ्क अनुसार सङ्क्रमण दर कम भएको छ भने मृत्युदर स्थिर देखिन्छ ।

शनिवार अपराह्ण सार्वजनिक तथ्याङ्कअनुसार १३,१७६ वटा नमुना परीक्षणमा १८५७ जनामा कोरोना देखिएको छ । तीमध्ये ३,७६७ वटाको परीक्षण एन्टिजन विधिबाट र अरूको पीसीआर विधिबाट गरिएको हो। अहिले परीक्षण गरिएका नमुनामा सङ्क्रमण पुष्टि हुने दर १४ प्रतिशत छ । नेपालमा सङ्क्रमितको कुल सङ्ख्या आठ लाख ४० हजार नाघेको छ ।

मृतकको सङ्ख्या १०,६९० पुगेको छ। २४ घण्टायता २,२२२ जनाले सङ्क्रमणलाई जित्न सफल भएका छन् । अब देशभर ३६,८६६ जनामा सक्रिय सङ्क्रमण भएको छ । तीमध्ये ३३,८३५ जना घरमा र बाँकी संस्थागत आइसोलेसनमा छन्। स्वास्थ्य मन्त्रालयको विवरणअनुसार नेपालमा पूर्ण मात्रा कोभिड खोप लगाउनेको सङ्ख्या शनिवार अपराह्णसम्म ४० लाख नाघेको छ।