समाचार

सरकारलाई पूर्णता दिने तयारी

काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले दल दर्तापछि मान्यता पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । सोही प्रयोजनका लागि शनिबार देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शनिबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

भेटमा सत्तारुढ गठबन्धनलाई थप बलियो र विश्वासको वातावरण बनाउँदै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका थिए । उनले त्यसको एक सातामै संसदबाट विश्वासको मत लिएका थिए । गठबन्धले मन्त्रालयको टुंगो लगाएपछि पार्टीहरुले मन्त्रिको नाम दिने तयारी समेत गरेका छन् ।