समाचार

नेपालमा कोरोना खोप प्रभावकारी, खोप लगाएका ९० प्रतिशतमा एन्टीबडी

Reuters

काठमाडौं । नेपालमा कोरोना विरुद्धको खोप प्रभावकारी बनेको पाइएको छ । अर्कोतर्फ सबै नेपालीको हिसाव गर्दा दुईतिहाइ मानिसमा कोभिड १९ को एन्टिबडी विकास भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको अध्ययनबाट यस्तो देखिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सेरो प्रोभ्यालेन्स सर्भे गरेको थियो । सर्भे अनुसार ६८.६ मानिसमा एन्टिबडी बनेको पाइएको छ ।

सर्वेक्षण अनुसार २१ असारदेखि ३० साउनसम्म ६ महिनाभन्दा बढी उमेरका १३ हजार १६१ व्यक्तिको नमुना संकलन गरि त्यसका आधारमा मूल्यांकन गरिएको थियो । ३ करोड जनसंख्यालाई नै प्रतिनिधित्व गर्ने गरी नमुना संकलन गरिएको मन्त्रालयले जनाएको छ । औसतःमा २५० घरबाट १० घरको नमुना लिइ अध्ययन गरिएको हो ।

संकलिन नमुनाको प्रारम्भिक नतिजा सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले सर्भेबाट प्राप्त प्रारम्भिक नतिजा अनुसार देशभर ६८.६ प्रतिशत नमुनामा कोभिड–१९ एन्टिबडी देखिएको निष्कर्ष निकालेको छ । कुल जनसंख्या ३ करोड (अनुमानित) मान्दा २ करोडभन्दा बढीमा कोभिड १९ एन्टिबडी देखिने भएको हो ।

खोप लगाएकामध्ये एक मात्रा मात्र कोभिड खोप लगाएका व्यक्तिमा ८० प्रतिशत र पूर्ण मात्रा लगाएकामा ९० प्रतिशतमा एन्टीबडी देखिएको छ । सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिङ्ग, उमेर, पेसा तथा सबै समूहमा लगभग समान रूपमा नै एन्टीबडी देखिएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।