स्थानीय

दार्चुलामा बाढी र पहिरोमा परि ३ जनाको मृत्यु, दुई घाइते-दुई वेपत्ता

दार्चुला । दार्चुलामा बाढी पहिरोमा परि तीन जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते र दुई जना बेपत्ता भएका छन् । बेपत्ताको खोजी तथा उद्धार गर्न नेपाली सेनाको टोली हेलिकोप्टर लिएर दार्चुला पुगेको छ । आइतबार राति आएको बाढीमा परी दुहु गाउँपालिका–१ बासपालिका नरसिंह महर, उनकी श्रीमति कौशा महर र दुहु गाउँपालिका–५, दुल्लामका मनुवा डडालको मृत्यु भएको हो । प्रहरीका अनुसार कालागाड खोलामा राति १० बजे आएको बाढीले घरसहित बगाउँदा उनीहरुको ज्यान गएको हो ।

घटनामा दुहँ गाउँपालिकाकै जनकराम पार्की र उजेलीदेवी डडाल गम्भीर घाइते भएका छन् । निजाङगाड खोलाको बाढीले बगाएका स्थानीय शेरसिंह कार्की र हरकसिंह कार्की भने बेपत्ता रहेको प्रहरीले जनाएको छ । जिल्लामा बाढीले दार्चुला–तिंकर सडकमा पर्ने मोटरेबल पुल, दुइटा झोलुंगे पुल र आधा दर्जन घर बगाएको छ । बाढीका कारण दार्चुला तिंकर सडक खण्डको निजाङगाड पुल बगाउँदा दुहुँ र व्याँस गाउँपालिकाको आवत– जावत बन्द भएको छ ।


बाढीले दुहुँ–३, को श्रीवगडका पूर्णबहादुर बम, नरेन्द्रबहादुर बम, दिपक बम, रणबहादुर बम, धिरेन्द्र बम र शेरबहादुर बमको घर बगाएको समाचार छ । महाकाली नगरपालिका–१,को श्रीबगडमा देवबहादुर बम, अमरबहादुर बम, सुन्दर बहादुर बम र जित हादुर बमको होटल तथा पसल बगाएको प्रहरीले जानकारी दिएको छ ।