मनोरञ्जन

पूजनीय तथा प्रेममय बनोस् हरितालिका तीज

सुपेन्द्र बस्नेत, बोष्टन

तीजको लहर आयो बरी लै…
तीजको लहर आयो बरी लै

बर्षौदेखि यो दीर्घजिवि कर्णप्रिय गीत नेपालीहरुको महान चाड हरितालिका तीजको पर्याय बन्दै आइरहेको छ। यस अवसरमा यो जस्तै अन्य तीज लक्षित गीतहरु पनि तछाडमछाड गर्दै गुन्जिने गर्दछन् । जब तीज नजिकिन थाल्छ , तब यस्ता गीतहरुले घुम्टो उठाएर वर्षदिनको मौनता तोड्दै सर्वत्र गुन्जिन थाल्छन् । जसले नेपालीहरुमा उमङ्गको छुट्टै तरङ्ग पैदा गरिदिन्छ । यस वर्ष पनि हरितालिका चाड नजिकिसकेका कारण तीज लक्षित गीतहरु गाँउदेखि शहरसम्म देशदेखि बिदेशसम्म गुञ्जिन थालिसकेका छन् । र , नेपाली समुदायमा उल्लास तथा उमङ्ग छाउन सुरु भैसकेको छ।महिलादेखि पुरुषसम्म भुरादेखि बुढासम्म सबैलाई तीजले प्रतक्ष्य अप्रतक्ष्य रुपमा छोइ सकेको छ । उसो त मुख्य गरी धार्मिक तथा साँस्कृतिक आस्था , विश्वास , परम्परा र रितिरिवाजमा आधारित भएर विभन्न धार्मिक कार्यहरु गरी मनाइने यो एक प्रचलित धार्मिक चाड हो । विषेश गरी यस धार्मिक कार्यहरुमा महिलाहरु सक्रिय रहने भएकाले यस चाडलाई महिलाहरुको महान चाडका रुपमा पनि व्याख्या गरिने गरिन्छ । तर, दिनप्रतिदिन यसको दायर फराकिलो बन्दै गएकाले यो चाड बृहत रुपमा मनाउने गरिएको पाइन्छ । यस वर्षको तीज आउन अब ९ दिन बाँकी छ । त्यसैले , महिलाहरुले आफ्नो महान चाड भव्यताका साथ मनाउन आफ्नो अनुकुलता अनुसार आफ्नो परिवारमा वा समुदायका बिच मनाउन सुरु गरिसकेका छन् । केही समाजिक तथा राजनितिक संघसंस्था , समूहहरुले त एक महिना अघी देखि नै सांगितिक कार्यक्रम सहितको सामूहिक दर खाने कार्यक्रम गरी तीज मनाउन सुरु गरिसकेका थिए । यो हिन्दु धार्मिक ग्रन्थ अनुसार पार्वतीले निराहार ब्रत बसी पूजा अर्चनासहित तपस्या गरेर भगवान शिव जस्तो होनहार योग्य वर पाएको धार्मिक मान्यतामा आधारित छ । जस अनुसार हिन्दु धर्मावलम्बी महिलाहरुले विवाहित भए पतिको सुस्वास्थ्य , दिर्घायु र उत्तरोत्तर प्रगतिको कामनासहित सुखद् दाम्पत्य जीवनको र अविवाहित भए भगवान शिव जस्तै योग्य वर पाँउ भनी भगवानको पूजा , अर्चना , स्तुति र प्रार्थना गरी यो चाड मनाउने गरिन्छ । प्रार्थनाबाट भगवान खुशी भई आशिर्वाद दिने र मनो कामना पुरा भइ जीवन सुखमय हुने धार्मिक विश्वासका आधारमा मनाउन सुरु गरिएको यो चाड , समयसगै समाज परिवर्तनमा प्रभाव पार्ने बिभिन्न कारक तत्वहरुका कारण समाजमा शैक्षिक , आर्थिक , राजनितिक लगायत क्षेत्रमा भएको परिवर्तबाट प्रतक्ष्य परोक्ष प्रभावित हुदै गइरहेको छ । जसले गर्दा यो चाडमा गरिने क्रियाकलापहरु र यसको महत्वमा पनि विविधता आएको छ । पहिला पहिला धार्मिक क्रियाकलापहरुमा मात्र सिमित यो चाडलाई विस्तारै विस्तारै विवाहित महिलाको जन्म र कर्म घरको महत्व दर्शाउने सेतुको रुपमा उपयोग हुदै समाजिक परिवर्तनका लागि महिलाको दु:ख पिडा , अधिकार , अभिमुखिकरण र राजनैतिक परिवर्तको वकालत गर्ने एक महायज्ञ कै रुपमा पनि उपयोग गरिन थालियो। जसले अझै पनि यो या त्यो अर्थमा निरन्तरता पाइनै रहेको छ । केही बर्ष यतादेखि त यस चाडको दायरा झनै फराकिलो हुदै गएको छ । जसले प्रार्थना तथा उपासनाका साथ गरिने धार्मिक क्रियाकलापहरुमा भन्दा जमघट हुने, खानपिन गर्ने , नाँचगान गर्ने , मनोरञ्जन गर्ने र हैसियतको प्रतिस्पर्धा गर्ने क्रियाकलापहरुमा बढी प्राथमिकता दिइरहेको छ । यसरी महिनौं अघीबाट चाडको नाममा मनोरञ्जनका लागि साँगितिक कार्यक्रमहरु गर्ने , दर खाने र जोर जुलुम गरेर हैसियत प्रदर्शन गर्ने तिर बढी केन्द्रिकृत हुदै जादा , चाडको धार्मिक मुल मर्म , महीमा र महत्व भने छायाँमा पर्दै गइरहेको छ । यस चाडलाई समय , काल र परिस्थिति अनुसार सामाजिक परिवर्तनका लागि उत्सव र अवसरका रुपमा सदुपयोग गरिनु पक्कै पनि सकारात्मक कुरा हो।तर , परिवर्तन र मनोरञ्जनका नाममा चाडको मर्म नै मर्ने गरी सामाजिक तथा धार्मिक तथा साँस्कृतिक आस्था , बिश्वास , रितिरिवाज , परम्परा आदि मा रहेको महत्वपूर्ण सकारात्कम , अमुल्य र वजसी पक्ष नै जानी नजानी छाँयामा पारिनु वा मारिदै जानु पक्कै पनि दुखद् र चिन्ताको बिषय हो । हिजो आज हरितालिका तीज मनाउने तवर तरिका र हुने गरेको क्रियाकलापहरुका कारण चाडको मर्म नै मर्दै गएको यथार्थलाई नकार्न सकिन्न । सामाजिक परिवर्तनका नाममा परिमार्जित र परिस्कृत तरिकाले चाड मनाएर चाडको मर्मलाई बेवास्ता गरिदा , सामाजिक विकृति पनि प्रसस्तै उब्जिरहेका छन्।र , दिन दुगुना रात चौगुना मौलाउदै गइरहेका छन् । तीजको महत्व आज जे जति छ त्यो धार्मिक आस्था , परम्परा र विश्वासकै कारण भएको हो भन्नेमा कुनै संका छैन । तर , त्यहिँ धार्मिक आस्था , परम्परा र विश्वासलाई नै ओझेलमा पारेर र मारेर सभ्य समृद्ध समाजको निर्माण कसरी गर्न सकिन्छ र ? भन्ने यक्षप्रश्न यतिबेला जोडतोड उब्जिरहेको छ । नेपालको सच्चा पहिचान , शक्ति , सबल पक्ष र पुँजी भनेकै विविधताका बिचको एकता हो । र , नेपाललाई समृद्ध बनाउने मुख्य आधार भनेको नै देशमा रहेका बिभिन्न चाड पर्व , भाषा , जात जाति , धर्म संस्कृति , धार्मिक सहिष्णुता , परम्परा , रितिरिवाज , भेषभुषा नै हुन् । त्यसैले नेपालले यसलाई जोगाई राखेर यसको प्रवर्द्धन गरी विश्वका पर्यटकहरुलाई आकर्षित गर्न सक्नु पर्दछ। र , यिनलाई पुँजीका रुपमा सदुपयोग गर्न सक्नु पर्दछ। तर,विडम्बना ! सामाजिक परिवर्तन र आधुनिकताको नाममा यस्ता अमुल्य मौलिक पहिचानसहितको नेपाली चाड पर्वहरुको मुल मर्म नै मर्दै जादै छन् । जसको ज्वलन्त उदाहरण बन्दै छ हरितालिका तीज । एकातिर महिला अधिकार , महिला हिंसा बिरुद्धको अभियान , महिला शसक्तिकरणका नाममा गरिने कार्यक्रमहरु र मनोरञ्जन केन्द्रित क्रियाकलापहरुले यो चाडको मर्मलाई ओझेलमा पर्दै गईरहेको छ भने , अर्कोतिर तीजको महत्व जीवन्त राख्ने नाममा गरिने धार्मिक क्रियाकलापहरु भने कर्मकाण्डी र अौपचारिकतामा मात्र सिमित हुदै गईरहेको छ । लोकारकृतिका लागि मन्दिर धाएर शिवको पूजा , अर्चना र स्तुति गाउदैमा धर्म हुदैन र चाडको मर्म बच्दैन । सच्चा धर्म त सच्चा कर्मले मात्र प्राप्त गर्न सकिन्छ।श्रीमान् र श्रीमति , प्रेमी र प्रेमिका , देवता र मानव , माइती र घर, दिदी बहिनी र दाजुभाइ , आमा र छोरी आदिका बिचको सुमधुर सम्बन्ध , एकता , शक्ति , सत्य , माया , मर्यादा , भूमिका , सहयोग , अधिकार , दायित्व , समर्पण , त्याग , प्राप्ति आदिको बहुआयामिक प्रतिक हो हरीतालिका तीज । जसले सभ्य समाजको निर्माणमा महत्वपूर्ण अग्रणी भूमिका खेल्दछ । यही हो यस चाडको मुल मर्म पनि । यसैमा केन्द्रिकृत भएर मनाइनु पर्दछ यो चाडलाई।तर , यथार्थमा त्यसो हुन सकिरहेको छैन।जसको मनग्य असरल्ल प्रमाणहरु देख्न र सुन्न पाइन्छ हिजो आज आयोजित तीज लक्षित कार्यक्रमहरुमा । अर्कोतर्फ , तीजको रौनक र उमङ्ग बढाउने तीज लक्षित अधिकांस गीतहरुले मनोञ्जनका नाममा गाईजात्रा नै प्रस्तुत गरिरहेका भेटिन्छन् । यस्ता गीत संगीतले महिला र पुरुष बिचको खाडललाई दिगो रुपमा पुरेर आत्मीय सामिप्यता कदाचित स्थापित गर्न सक्दैन । पुरुषको सक्रिय सहभागिता र अग्रणी भुमिका बिना नै महिलाको यथोचित उथ्थान र विकास हुन्छ भन्ठान्नु र त्यबाट ऐश्वर्य प्राप्त गर्न खोज्नु , बालुवा पेलेर तेल निकाल्ने निरर्थक प्रयास गर्नु जस्तै हो । त्यसका लागि त महिलाप्रति पुरुष र पुरुषप्रति महिला सकारात्मक हुनै पर्दछ । र, समृद्ध समाजको सृजनाको निम्ति संयुक्त अभियानको खाँचो छ।सकारात्मक सोच , सकारात्मक काम र सकारात्मक परिणाम् । त्यसैले , यो अवसरमा चाडको धार्मिक आस्था , विश्वास र गरीमालाई अक्षुण राख्दै सकारात्मक पक्षको वकालतलाई प्राथमिकता दिइनु पर्दछ । मानव सभ्यता र जगत भलोका दृष्टिकोणले यस चाडको अर्को निकै चिन्ताजनक पक्ष बन्दै गएको छ आडम्बरी हैसियत प्रदर्शनको प्रतिस्पर्धा । हिजो आजको परिवर्तित अवस्थामा , हुँदा खानेको पनि नभई , हुने खानेको मात्रै चाडको रुपमा आफ्नो परिचय बनाउदै गइरहेको छ यो चाडले तीजको अवसरमा जे जस्तो गरेर भए पनि आफ्नो आर्थिक र सामाजिक हैसियत अरुको भन्दा उच्च रहेको प्रमाणित गर्न प्रयोग गरिने महंगो कपडा , श्रृङ्गार , खानपिन र आभुषणको प्रयोगमा आएको आडम्बरी प्रतिस्पर्दाले , धनी र गरिब महिलाहरु बिचको खाडल पुर्नुको सट्टा झन झन बढाउदै गईरहेको छ । महिनौं अघिदेखि चाडका नाममा घर , चोक , चौतारो , होटल , रेष्टुरेन्ट , पिकनिक स्थल लगायत स्थानहरुमा विभिन्न खाले कार्यक्रमहरुसहित सामुहिक दर खाने चलनले तीज निकै खर्चिलो र भडकिलो बन्दै गईरहेको छ । जसले गर्दा धार्मिक , साँस्कृतिक तथा परम्परागत् ‘दर’को साब्दिक अर्थ र मुल मर्म नै मर्दै गइरहेको छ । यसको असर सहरमा मात्र हैन गाँउमा पनि परिरहेको छ । देशमा मात्र हैन परदेशमा रहेका नेपालीहरुमा पनि परिरहेको छ । हुन त तुलनात्मक रुपमा हेर्दा गत वर्षदेखि यस्ता आडम्बरी प्रतिकारात्मक क्रियाकलापहरुमा गिरावट आएको छ । तर , त्यो गिरावट चाडको मर्मलाई आत्मसात् गरेर गरिएको चिन्तन मननको परिणाम नभइ कोरोनाको कहरका कारण आएको परिणाम मात्र हो । हुन त सामुहिक रुपमा चाड मनाउनु आत्मीय एकताको सुत्रमा बाँधिने सुवर्ण अवसर हो । तर , यो एकताको सुत्रमा बाँधिने सुमधुर अवसरलाई बुद्धिमता पूर्वक उपयोग गर्न सकिरहिएको छैन । एकातिर हुने खाने र प्रदर्शन गर्न चाहनेहरुका आडब्बरी प्रतिस्पर्धात्मक क्रियाकलापहरुले गर्दा, हुँदा खानेहरुलाई झन हिनता बोध गराइरहेको छ भने , अर्कोतिर विकृति तथा विसंगतिहरु पनि उति नै भित्रि रहेका छन् । र , हुँदा खाने र हुने खानेका बिच झन ध्रुबिकरण भैरहेको छ । यि र यस्ता चाडका मर्म विपरीत परिणामका आधारहरुलाई बिश्लेषण गर्दा , यस्ता हर्कतहरुले यसै गरी प्राथमिकता पाएर मौलाउदै जाने हो भने केही बर्ष भित्रै हुने खाने र हुँदा खाने महिलाहरु बिचको युद्ध केन्द्रित चाड बन्छ यो ‘तीज’ भन्ने अनुमान गर्न गाह्रो पर्दैन । यस्ता गतिविधिहरुले धार्मिक क्षेत्रमा मात्र है समाजका हरेक क्षेत्रमा असर पार्दछ । र , समग्रमा मानवता हराउदछ । महिला अधिकारका पक्षमा वकालत गर्न , मनोरञ्जन गर्न , आफ्नो उच्च आडम्बरी हैसियत प्रदर्शन गर्न महत्वपूर्ण धार्मिक तथा पूजनीय प्रेमको संदेश बोकेको यही चाडलाई नै पर्खिरहनु पर्दैन । अन्य दिनहरुमा पनि गर्न सकिन्छ ।
त्यसैले यो चाड मनाउदा सबैको समान सम्मान गर्न समान हैसियत , समान अधिकार र समान दायित्वको सुनिश्चितता हुने गरी मनाउनु अपरिहार्य छ ।
अतः सारमा भन्नु पर्दा मुख्य गरी यस चाडमा अन्तर्निहित धार्मिक , साँस्कृतिक , रितिरिवाज र परम्परागत अमुल्य मुल मर्मको संरक्षण तथा संवर्ध्दन गर्दै चाडको सकारात्मक पक्षलाई समय , काल र परिस्थिति अनुसार सामाजिक परिवर्तनका लागि सदुपयोग गर्नु पर्दछ । चाड मनाउदा सबै आत्मीय एकतामा बाँधिनु पर्दछ । संसार प्रेममय छ । मर्यादित र समर्पित प्रेम बिनाको जीवन अर्थहीन छ । प्रेम नै साँचो अर्थमा मानव जीवनको सार हो । त्यसैले त्यसैमा केन्द्रित भएर कर्म गर्नु नै मानवको धर्म हो । जो जगत भलोको एक महत्वपूर्ण ब्रम्हास्त्र हो । तसर्थ, श्रीमान र श्रीमती, प्रेमी र प्रेमीका, माइती र घर, चेली र दाजुभाई, भगवान र मानव आदिका बिचको प्रेम पूजनीय हुनु अपरिहार्य छ । जसमा आत्मीय एकता, सत्यता, पवित्रता , धैर्यता, लगनशिलता, निरन्तरता, एकाग्रता, विश्वश्नियता , इमानदारिता, जिम्मेवारी, अधिकार,
समर्परण , प्राप्ति, त्याग आदि महत्वपूर्ण कारक तत्वहरु अपरिहार्य हुन्छन् । जो सार्थक जीवन जीउनका लागि एक अर्काका परिपुरक हुन्छन् । यिनै हुन् यो चाडको सुन्दर सकारात्मक पक्ष, मुल मर्म र मुल संदेश पनि । यसैमा केन्द्रिकृत भएर मनाउनु पर्दछ यो पवित्र चाड ‘हरितालिका तीज’ । अत: चाडको मुल मर्म अनुसार नै यो चाड हर्षोल्लासका साथ ‘प्रेममय’ रुपमा मनाउन सकौं भन्ने सदिच्छासहित सबैमा हार्दिक मंगलमय शुभकामना !!!
जय हरितालिका तीज ! जय नारी !!