समाचार

गोकर्णेश्वर मन्दिरमा कुशे औँसीमा मेला नलाग्ने

काठमाडौँ, भाद्र १५ । गोकर्णेश्वरको महादेव मन्दिर कुशे औँसीको दिन बन्द रहने भएको छ । कोरोनाको दोस्रो लहरमा संक्रमित संख्या दिनहुँ बढ्दै साथै तेस्रो आउँन सक्ने जोखिम रहेकाले गत वर्ष जस्तै यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन हुने भएको हो ।
प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्न स्वदेश तथा विदेशबाट लाखौँ भक्तजन आउने गर्छन्।गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको शनिबारको बैठकले मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन गर्ने निर्णय गरेको समितिका अध्यक्ष एवं गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए। उनले कोरोना संक्रमण तीब्र रूपमा बढिरहेको बेला मन्दिरमा आउने श्रद्धालु भक्तजनहरु साथै बजारमा ठूलो मेला लाग्ने भएकोले मेला हेर्न आउने लाखौंको स्वास्थ्य सुरक्षाको लागि मेला स्थगन गर्न बाध्य भएको बताए।
यस वर्ष भदौ २२ गते कुशे औँसी मेला परेको छ।भाद्र कृष्ण औँसीमा गोकर्णेश्वरमा आएर जलदान, सिधादान र पिण्डदान गरेमा २१ कुल सम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ। गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगन गरिएको थियो।