विश्व

अफगानिस्तानमा बसिरहनुको औचित्य थिएन, सेनाले उच्चस्तरको काम गर्यो : बाइडेन

वासिंटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी सेना अफगानिस्तानमा बसिरहनुको कुनै औचित्य नरहेको भन्दै सेना फिर्तीको बचाउ गरेका छन् । अफगानिस्तानबाट मंगलबार पुरै सेना अमेरिका फर्किएपछि देशबासीलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सम्बोधनका क्रममा तालिबान शासनमा रहन नचाहने र अफगानिस्तानबाट बाहिर निस्कन चाहने एक लाख २० हजारभन्दा बढीको हवाई उद्धार गरिएको समेत जानकारी गराए । यसका लागि उनले सेनालाई धन्यवाद दिएका छन् । सन् २००१ मा अमेरिकी सेना अफगानिस्तान छिरेको हो ।

तर, सेना बर्हिगमन हुँदा यहाँको सत्ता पुनः तालिवानको हातमा पुगेको छ । अमेरिकामा भएको आतङ्कवादी हमलाको जिम्मा लिएको अलकायदाको आधार उक्त देश रहेको भन्दै त्यसबेला अमेरिकाले हमला गरेको हो । राष्ट्रपति बाइडेनले अमेरिकी, अन्य साझेदार देशका नागरिक र अमेरिकीका लागि काम गरेका तर अफगानिस्तान छाड्न चाहने अफगानीको उद्धार गर्न विमानस्थलमा नियन्त्रणको प्रयोजनमा ६ हजार सैनिक पठाएका थिए। यो कदमलाई उनले युद्ध अन्त्यको घोषणा समेत गरेका छन् ।