स्थानीय

पोखरामा छुट्टाछुट्टै स्थानमा पहिरोमा परि ३ जनाको मृत्यु, १ वेपत्ता

file

पोखरा । पोखराका छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परि ३ जनाको ज्यान गएको छ । एक जना बेपत्ता छन् । घटनामा ५ घाइते भएको र उनीहरुको उपचार जारी रहेको बताइएको छ ।कास्की प्रहरीलाई उदृत गर्दै संचारमाध्यमले लेखे अनुसार बुधबार साँझदेखि परेको अविरल वर्षाका कारण आएको पहिरोले घर पुरिँदा पोखरा–२० भलामका ४५ वर्षीय कृष्ण श्रेष्ठ, उनकी ३५ वर्षीया श्रीमती सुनमाया तामाङको ज्यान गएको छ ।

श्रेष्ठको उपचारका क्रममा मणिपाल शिक्षण अस्पतालमा र सुनमायाको घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरुका ३ वर्षका छोरा सन्तोष बेपत्ता छन् । उनीहरुका ९ वर्षीय छोरा राजकुमार भने घाइते छन् । उता, पोखरा–११ भन्ज्याङ नमुनाटोलस्थित एक घरलाई पहिरोले पुर्दा ४२ वर्षीय लक्ष्य नेपालीको मृत्यु भएको छ । पहिरोमा परेर घाइते उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालीकी छोरी १४ वर्षीया सृष्टि उपचारपछि घर फर्किएकी छिन् । श्रीमती र दुई छोरालाई सकुशल उद्धार गरिएको छ । उता, पोखरा–११ बसेरीमा पहिरोले घर पुर्दा एकदेव तिमिल्सिना, उनकी श्रीमती रितु, छोरा गिरिष घाइते भएको प्रहरीले जनाएको छ ।