स्थानीय

रसुवामै युरोपियन स्याऊको उत्पादन तथा बिक्री

सरस्वती न्यौपाने, रसुवा

गोसाईंकुण्ड गाउँपालिका वडा नं. ५ ब्राबलमा ‘ब्रावाल कृषि समूह स्याउ फार्म’को इटालीबाट ल्याइएको ११ हजार फुजी, बाला र गोल्डेन जातको स्याउ फल्न थालेको छ ।

फार्मका अध्यक्ष डिण्डुव तामाङका अनुसार एक वर्षअघि इटालीबाट ल्याएर रोपेको स्याउले यही वर्षबाट आम्दानि दिन थालेको छ । गत वर्षको असारमा ल्याएको अब आउँदो असोजबाट बेच्न मिल्ने भएको छ, उनले भने ।
बागमति प्रदेशबाट ५० प्रतिशत र समूहबाट ५० प्रतिशत गरी करिब १३ करोड २० लाख रुपैयाँको लगानीमा स्याउ रोपेको हो, उनले भने, ‘त्यसमध्ये कोही मरे, कोहीमा फलेन र सप्रिएको बिरुवाबाट ४ किलोसम्म फल्ने छ ।’

लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने ब्रावालमा सामूहिक रूपमा चिराइतो खेति गर्ने गाउँ भनेर चिनिएको ठाउँ अबका दिनमा स्याउ फल्ने गाउँ भनेर पनि चिनिनेछ, डिन्डुपले भने । स्थानीय जातका स्याउ लगाउँदा ५ वर्षपछि मात्र उत्पादन हुने गरेको तर फुजि र वाला स्याउले एक वर्षमै आम्दानि दिन थालेपछि स्थानीय कृषकहरू यसप्रति आकर्षित हुँदै गएको छ ।

पाखो र भिरालो जमिनलाई पनि स्याउ उत्पादन गरेर आम्दानिको स्रोत बनाएकोमा गोसाईंकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङले खुसी व्यक्त गरे ।

ठुलो स्याफ्रु हुँदै लाङटाङ तथा गोसाईंकुण्ड यहीँ पदमार्ग हुँदै जाने भएकाले स्याउ फल्ने समयमा आन्तरिक तथा बाह्य पर्यटकले समेत अवलोकन गर्न सकिने गोसाईंकुण्ड गापा वडा नं ५ का वडाध्यक्ष सिङगेडिण्डुव तामाङको भनाइ छ ।
रसुवाको माथिल्लो भेग बिस्तारै स्याउ खेतिको लागि प्रख्यात हुँदै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए ।