विश्व

अफगानी पूर्वराष्ट्रपतिले भने : ६० लाख काबुलबासीलाई जोगाउन देश छाडे

Getty Images\BBC

काठमाडौं । अफगानिस्तानका पूर्व राष्ट्रपति अशरफ गनीले ६० लाख काबुलबासीलाई हिंसाबाट जोगाउन आफुले देश छाडेको बताएका छन् । देश छाड्नुको कारणबारे उल्लेख गर्दै विज्ञप्ति निकालेका उनले तालिबान देशको राजधानी काबुल प्रवेश गर्दै गर्दा आफू देश छाडेर भाग्नुको कारणबारे व्याख्या गरेका हुन् । बीबीसीका अनुसार दुई पटक राष्ट्रपति बनिसकेका गनीले अफगानिस्तानका जनतालाई छाडेर जाने आफ्नो नियत नभएको तर ६० लाख मानिस बसोबास गर्ने राजधानी काबुलमा हिंसा नहोस् भन्ने चाहेको बताएका छन् ।

विज्ञप्तिमा गनीले माफी पनि मागेका छन् । अफगान राज्यकोबाट लाखौँ अमेरिकी डलर लिएर आफूले देश छाडेको आरोपको भने उनले सिधै अश्वीकार गरेका छन् । उनले तालिबान वा तालिबान सरकारबारे कुनै टिप्पणी नगरेको समेत समाचारमा उल्लेख छ । अशरफ गनी दुई पटक अफगानिस्तानका राष्ट्रपति निर्वाचित भएका थिए। उनी पहिलो पटक सन् २०१४ मा र दोस्रो पटक २०१९ मा राष्ट्रपति बनेका हुन् ।