समाचार

प्रधानमन्त्री देउवा र एमसीसी उपाध्यक्षबीच भेट, के भयो कुराकानी ?

काठमाडौं । नेपाल भ्रमणमा रहेका मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारसहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेको छ । शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास पुगेकी हुन्। प्रधानमन्त्री देउवाले ट्विटरमा भेटको तस्वीर सार्वजनिक गरेका छन् । भेटमा एमसिसीबारे दुबै पक्षले आआफ्नो धारण राखेका छन् ।

साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले जानकारी गराएका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सरकार र एमसिसीबीच २०१७ मा सम्पन्न अनुदान सम्वन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताएका छन् । उनले लेखेका छन्, ‘आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो, हामीले नेपाल अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आआफ्नो विचार राख्यौं।’

भेटमा उपाध्यक्ष सुमारले संसदबाट एमसिसी छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक विकासका लागि यसले महत्वपूर्ण योगदान गर्ने धारणा राखेको बताइएको छ । उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूलाई भेटेर एमसीसी आयोजनाबारे प्रष्ट पार्ने प्रयास गरेकी छिन् ।