समाचार

चीनविरुद्ध बेलायत, अमेरिका र अष्ट्रेलियाबीच सुरक्षा सम्झौता

लण्डन । बेलायत, अमेरिका र अस्ट्रेलियाबीच परिष्कृत रक्षा प्रविधि आदानप्रदान गर्ने सम्बन्धी एक विशेष सुरक्षा सम्झौता गर्न तयार भएका छन् । बीबीसीका अनुसार यो कदम चीनविरुद्ध लक्षित छ । सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउन बाटो खुला गरिदिने समेत समाचारमा उल्लेख छ । ओकस भनिने उक्त सम्झौतामा आर्टिफिसिएल इन्टेलिजेन्स, क्वान्टम टेक्नोलोजी र साइबरका पक्ष समेट्ने बताइएको छ।

इन्डो प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थितिबाट ती तीन देश चिन्तित रहेको भन्दै सुरक्षा सम्झौतामार्फत एक भएका हुन् । पछिल्लो सम्झौतासँगै अस्ट्रेलियाले फ्रान्सेली पनडुब्बी खरिद गर्ने सम्झौता रद्द गरेको छ। सन् २०१६मा अस्ट्रेलियाली नौसेनाका लागि १२ वटा पनडुब्बी निर्माण गर्ने ५० अर्ब अस्ट्रेलियन डलर बराबरको ठेक्का हात पार्न फ्रान्स सफल भएको थियो।

त्यो अस्ट्रेलियाको सबैभन्दा ठूलो रक्षा सम्बन्धी सम्झौता थियो। चीनले तत्काल प्रतिक्रिया जनाउँदै यूके, अमेरिका र अस्ट्रेलियाको पछिल्लो कदमको निन्दा समेत गरेको समाचार छ । एउटा प्रत्यक्ष भिडिओ सम्मेलनका क्रममा तीनवटै देशका नेताहरूले सम्झौताले उक्त क्षेत्रको स्थिरतालाई बल दिने बताएका छन्।