मनोरञ्जन

आज विश्वकर्मा पूजा, मेसिनको पूजा-आरधना गरिँदै

काठमाडौं । हरेक वर्ष आश्विन सङ्क्रान्तिका दिन मनाइने विश्वकर्मा पूजा आज देशभर पूजा आराधनासहित मनाइँदैछ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गर्ने प्रचलन रहेको छ । यो दिनमा घरमा रहेका हातहतियारको समेत पूजा गरिन्छ । कृषकले कृषि औजारको पूजा गर्छन् । कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाउने गरिन्छ । बालुवा वा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति विभिन्न नदीमा सेलाउने गरिन्छ ।

आज उपयोगमा आउने विभिन्न औजार, सवारी साधनको समेत पूजा गर्ने प्रचलन रहेको छ । द्वापरयुगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा बसेको मान्यता छ ।

प्राचीन भारत वर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तु विद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । विश्वकर्मा प्रकाश नामक वास्तु शास्त्रको ग्रन्थ उनले नै तयार पारेको विश्वास गरिन्छ ।