समाचार

काठमाडौंका मूख्य चोकमा ओभरहेड ब्रिज, मन्त्रीले पुरा गर्लान बाचा ?

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंका मूख्मूख्य चोकमा होभरहेड ब्रिज निर्माणको योजना सार्वजनिक गरेका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री महासेठले ट्राफिक जाम हुने खास खास चोकमा ‘ओभरहेड ब्रिज’ निर्माणको योजना अगाडी बढेको जानकारी दिएका हुन् ।

उनका अनुसार काठमाडौंको कोटेश्वर, गौशाला, नयाँ बानेश्वर, चाबहिल, थापाथली र कालिमाटी चोकमा ओभरहेड ब्रिज निर्माणको योजना सरकारले बनाएको छ ।

ओभरहेड ब्रिज निर्माण गर्न डिजाइन बनाउने काम समेत अगाडी बढिसकेको मन्त्री महासेठको भनाई छ ।

काठमाडौं अहिले अत्यधिक सवारी साधन र अस्तव्यस्त ट्राफिक व्यवस्थापनका कारण आक्रान्त छ । खासगरी काठमाडौंका मूख्य चोकहरुमा लामो जामसहित दूर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ ।

काठमाडौंमा लामो समय जाम नहुने तर, छिटो छिटो आउने चोकहरुमा जाममा फसिरहने कारणले यहाको यातायात व्यवस्थापन चूनौतिपूर्ण बन्दै गएको छ ।

यस अवस्थामा मन्त्री महासेठको घोषणा कति कार्यान्वयनयोग्य छ, त्यो त भविश्यले नै देखाउने छ ।

काठमाडौंका सडकमा ट्राफिक लाइटसमेत छैन । प्रहरीले हातको इशारामा गर्ने व्यवस्थापनले चालक मात्र नभई स्वयमः प्रहरीलाई पनि सास्ती भइरहेको छ ।

मन्त्री महासेठ भने चालू आर्थिक वर्षभित्रै काठमाडौंको सडकमा स्मार्ट लाईट व्यवस्थापन शुरु गरिने बताउँछन् ।

उक्त प्रयोजनका लागि बजेटको जोहो भइसकेको मन्त्री महासेठको भनाई छ । काठमाडौं एक वर्ष भित्रै एक सुन्दर शहरमा परिणत भइसक्ने उनको दावि रहेको छ ।

सडकका खाल्डाखुल्डी, धुलो धुँवा र फोहोर त्यसमाथि यातायातको व्यवस्थापनको मुस्किल, यो सबै अव्यवस्था मन्त्रीले कसरी हटाउने छन्, त्यसका लागि पुनः अर्को एक वर्ष कुर्नु पर्ने भएको छ ।