डायस्पोरा

न्यूयोर्कमा बृहत तीज कार्यक्रम सम्पन्न

न्यूयोर्क, ज्याक्सन हाईट्सस्थित सत्यनारायण मन्दिरमा नेपाली महिलाहरुले धुमधाम तीज मनाएका छन् । शनिबार साँझ ७ बजेदेखि ११:३० सम्म चलेको कार्यक्रम मन्दिरको सभाहल तथा पुजा परिसरमा गरिएको थियो । उक्त कार्यक्रम बिगत १२ वर्षदेखि न्यूयोर्क न्यूजर्सीका नेपाली दिदीबहिनीहरुको समुहले हरेक वर्ष मनाउँदै आएको सामुहिक तीज कार्यक्रमको निरन्तरता भएको र आगामी वर्षमा पनि जारी रहने आयोजकको तर्फबाट गिता पोख्रेलले बताएका छन् । 

अमेरिकामा नेपाली समुदायले मनाउँने तीज कार्यक्रम मध्ये कै ठुलो मानिने यो कार्यक्रममा करिब १ हजारको हाराहारीमा दिदीबहिनीहरु जम्मा भएर नाचगान गर्दै दर भोजन गरेर मनाएका थिए । चेलिबेटीको दर खानपानमा सहजिकरणको भुमिका निभाएका समाजसेवी मनोज शर्माले आफूले हरेक बर्ष तीजमा गर्दै आएको यो सेवा आफुलाई पुजा गरे बराबर लाग्ने बताए ।

कार्यक्रममा “अधिकार” संस्थाको कार्यकारी निर्देशक पवित्रा बेन्जामिन खाती, व्यवसायी बिमला हमाल श्रेष्ठ र पेमा शेर्पालाई सम्मान समेत गरिएको थियो ।

करिब ५ घण्टा चलेको कार्यक्रममा सामुहिक तथा एकल नृत्यहरु प्रस्तुत गरिएको थियो । डायस्पोरामा हुने यस्तो किसिमको साँस्कृतिक महत्व बोकेको कार्यक्रममा ठुलो समुहका नेपाली महिलाहरु गहनापात लगाएर सजिसजाऊ भएर हिडेको देखेर अन्य देशका आप्रबासी न्यूयोर्केलीहरुको समेत ध्यानाकर्षण भएको थियो ।